काठमाडाैं- क्यान्सरका बिरामीहरूको उपचार यात्रालाई सहज बनाउन यती एयरलाइन्स र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच ऐतिहासिक सम्झौता भएको छ।
अब, क्यान्सरका बिरामीहरूलाई अस्पतालसम्म पुग्न निःशुल्क हवाई टिकट उपलब्ध गराइनेछ। शनिबार आयोजित कार्यक्रममा यती एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
यती एयरलाइन्सका उपप्रबन्धक विमल विष्टका अनुसार, सामाजिक उत्तरदायित्व अन्तर्गत यो पहल गरिएको हो, जसले देशभरका क्यान्सर पीडितहरूलाई सहज रूपमा अस्पताल पुग्न मद्दत गर्नेछ।
पूर्वाञ्चल क्यान्सर अस्पताल २०७६ साल फागुन १८ गतेदेखि झापाको विर्तामोडमा सञ्चालनमा आएको हो। १०० शय्यायुक्त यस अत्याधुनिक अस्पतालमा पेटसिटी, रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत विश्वस्तरीय प्रविधिहरू उपलब्ध छन्। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्र यादवका अनुसार, निःशुल्क हवाई टिकटको सुविधाले बिरामीहरूलाई ठूलो राहत पुग्नेछ।
उनले भने, "देशभरका बिरामीहरूलाई पेटसिटीजस्ता प्रविधिहरूका लागि महँगो खर्च गर्दै भारत जानुपर्ने बाध्यता हट्नेछ। अब नेपालमै उच्चस्तरीय उपचार सहज हुनेछ।"
पूर्वाञ्चल क्यान्सर अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले निःशुल्क हवाई टिकट प्राप्त गर्नका लागि क्यान्सर सङ्क्रमण प्रमाणित भई अस्पतालमा उपचाररत हुनुपर्ने बताए। उनले भने, "देशका जुनसुकै भागबाट उपचारका लागि आउने बिरामीले यो सुविधा एकपटक प्राप्त गर्न सक्नेछन्। बिरामीलाई अस्पताल जाने र घर फर्किने दुवै हवाई टिकट उपलब्ध गराइनेछ।"
अस्पतालमा पाँच वर्षको अवधिमा ६,४८४ नयाँ क्यान्सरका बिरामीको उपचार भइसकेको छ। मेडिकल सुपरिन्टेन्डेन्ट डा. यादवका अनुसार, तीमध्ये सबैभन्दा बढी स्तन क्यान्सरका ८१४ जना, फोक्सो क्यान्सरका ८०५ जना, पाठेघर क्यान्सर र नाक, कान, घाँटीको क्यान्सरका बिरामीहरूको सङ्ख्या क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन्।
जनचेतनाको कमी र आर्थिक अभावका कारण ग्रामीण तथा दुर्गम क्षेत्रका क्यान्सरका बिरामीहरू अझै पनि समयमै उपचार लिन नसकेको जनसम्पर्क अधिकृत गिरीले बताए।
मोरङको रतुवामाई नगरपालिका–५ का टीकाराम शिवाकोटीले यो सम्झौताले हजारौँ बिरामीलाई राहत दिने विश्वास व्यक्त गरे। चार महिनादेखि पत्नीको फोक्सो क्यान्सरको उपचार गराइरहेका शिवाकोटी भन्छन्, "हुनेखानेका लागि अस्पताल पुग्न गाह्रो नहोला, तर विपन्न बिरामीका लागि यातायात खर्च नै ठूलो समस्या बन्छ। यती एयरलाइन्सको यो सहयोगले असहाय बिरामीहरूलाई अमूल्य राहत दिनेछ।"
उनका अनुसार, रतुवामाई नगरपालिकाले बिरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ।
सरकारले पनि विपन्न बिरामीहरूको उपचारमा विशेष सहुलियत दिँदै आएको छ। जनसम्पर्क अधिकृत गिरीका अनुसार, सरकारले विपन्न नागरिक औषधोपचार कार्यक्रम अन्तर्गत रु. १ लाखसम्मको निःशुल्क उपचार प्रदान गर्छ। साथै, लुम्बिनी प्रदेश सरकारले रु. २ लाखसम्मको विशेष उपचार सहायता उपलब्ध गराइरहेको छ।
पूर्वाञ्चल क्यान्सर अस्पताल अत्याधुनिक प्रविधि र दक्ष चिकित्सकीय जनशक्तिका कारण देशका कुनाकाप्चा मात्र होइन, विदेशबाट समेत उपचार गराउन बिरामीहरू आउने क्रम बढिरहेको छ।
यती एयरलाइन्स र पूर्वाञ्चल क्यान्सर अस्पतालबीचको यो सम्झौताले क्यान्सर पीडित बिरामीहरूका लागि नयाँ आशाको सञ्चार गरेको छ। अब नेपालमै गुणस्तरीय उपचार पाउने सम्भावना बलियो बनेको छ, जुन सम्पूर्ण नेपाली समाजका लागि सकारात्मक कदम साबित हुनेछ।
प्रतिक्रिया