काठमाडौ–चिनियाँ नयाँ वर्षको पूर्व सन्ध्यामा काठमाडौंमा ‘न्यानो वसन्त महोत्सव’ को आयोजना गर्दै एक भव्य कार्यक्रम भएको छ । सोही उपलक्ष्यमा ‘चीनको तिब्बतका बारेमा कुरा गर्दै’ भन्ने कार्यक्रम गत साता काठमाडौँमा सम्पन्न भएको थियो । सो अवसरमा विभिन्न क्षेत्रका विद्वान्, कलाकार र अन्य व्यक्तित्वको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा नेपाल–चीन मित्रतासँगै तिब्बतका सांस्कृतिक धरोहरका बारेमा समेत चर्चा गरिएको थियो ।
नेपाल र चीनबिच सांस्कृतिक आदान–प्रदान गर्ने उद्देश्यले चीनको तिब्बत पुस्तकालयले आयोजना गरेको कार्यक्रमको सुरुआत वाङ मेङ्ग्यायोको स्वागत भाषणबाट भएको थियो । उनले नेपाल र चीनबिच आपसी समझदारी र मित्रता प्रगाढ बनाउन सांस्कृतिक आदान–प्रदानले विशेष भूमिका खेल्ने बताइन् ।
गणेश कुमार जीसीले प्रस्तुत गरेको नेपालका प्रसिद्ध वास्तुकार अरनिकोको कथा कार्यक्रमको मुख्य आकर्षण बनेको थियो । अरनिकोलाई नेपाल र चीनले सांस्कृतिक सम्बन्धको प्रतीकका रुपमा लिँदै आएका छन् ।
कार्यक्रममा नेपाल–चीन सांस्कृतिक र शैक्षिक संघका अध्यक्ष श्री हरिशचन्द्र शाहले अरनिको र राजकुमारी भृकुटीको मूर्तिको ऐतिहासिक महत्त्वबारे प्रकाश पारेका थिए । कार्यक्रममा हाजिरीजवाफ कार्यक्रम, फोटो प्रदर्शनी, थाङ्का चित्रकला प्रदर्शनी र गायन प्रस्तुति समेत रहेको थियो । नेपालका गायक फु शेर्पाले कालजयी गीत ‘एटर्नल स्टार’ प्रस्तुत गरेका थिए । ल्हासाका थाङ्का चित्रकार देजीको थाङ्का चित्रकला प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा ‘तिब्बत टुडे’ साप्ताहिकका नेपालका प्रकाशक गौतमले मिडिया र सांस्कृतिक चेतनाका बारेका चर्चा गरेका थिए ।
प्रतिक्रिया