काठमाडाैं- नेपाल राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरण सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ को छ महिनाको तथ्याङ्कमा आधारित रहेर आइतबार रिपोर्ट सार्वजनिक गरेको हो । बैंककाे विवरण अनुसार २०८१ पुष महिनामा नेपालको वार्षिक उपभोक्ता मुद्रास्फीतिदर ५.४१% पुगेको छ, जुन गत वर्षको समान अवधिको ५.२६% भन्दा केही बढी रहेको छ। यस महिनामा खाद्य तथा पेय पदार्थको समूहमा ७.६७% र गैर-खाद्य तथा सेवा समूहमा ४.१९% मूल्यवृद्धि दर्ता भएको छ। खाद्यमा तरकारी (२८.५२%), घिउ/तेल (१०.६७%), दाल/गेडागुडी (९.४८%) र मरमसला (३.१२% घट) ले मुख्य भूमिका खेलेका छन्।
ग्रामीण क्षेत्रमा मुद्रास्फीति ५.६८% र सहरीमा ५.३१% रहेको छ। प्रदेश अनुसार कोशीमा ६.७३% (सर्वाधिक) र गण्डकीमा ४.३७% (न्यूनतम) दर कायम छ। काठमाडौं उपत्यकाको मुद्रास्फीति ५.०३% रहेको छ भने तराई, पहाड र हिमाल क्षेत्रमा क्रमशः ५.६०%, ५.४१% र ५.२७% दर छ।
यसैगरी आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा निर्यात ३१.८% ले उकासिएर ९८ अर्ब ७९ करोड पुगेको छ। भारततर्फ ४६.१%, चीनतर्फ १९.७% र अन्य मुलुकतर्फ १.०% निर्यात बढेको छ। सोयाबिन तेल, चिया, पोलिस्टर यार्न लगायतको निर्यात उल्लेखनीय छ। यसै अवधिमा आयात ७.१% ले बढेर ८२२ अर्ब ३७ करोड पुग्दै व्यापार घाटा ४.४% ले झुलिएको छ। विप्रेषण आप्रवाह ४.१% ले बढेर ७६३ अर्ब ८ करोड पुगेको छ।
यस्तै सरकारले ६ महिनामा ६६७ अर्ब ६० करोड खर्च गरेकोमा ५५९ अर्ब ६१ करोड राजस्व संकलन भएको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप ३.७% ले बढेको छ भने निजी क्षेत्रमा कर्जा प्रवाह ५.२% ले वृद्धि भएको छ। विदेशी मुद्रा सञ्चिति १६ अर्ब ८४ करोड डलर पुगेर १७.३ महिनाको आयात धान्न सक्षम छ।
नेप्से सूचकांक २०८१ पुषमा २५९४.१३ पुगेर उच्च भएको छ। धितोपत्र बजार पुँजीकरण ४३०२ अर्ब ८८ करोड छ। यस अवधिमा १६ अर्ब ८१ करोडको धितोपत्र सार्वजनिक निष्काशन अनुमतिमा पुगेको छ।
मुद्रास्फीतिको दबाब विशेषगरी खाद्यमा केन्द्रित छ। विदेशी व्यापार र विप्रेषणले सकारात्मक गति देखाए तापनि व्यापार घाटा चिन्ताजनक छ। बैंकिङ क्षेत्रमा तरलता र पुँजी बजारमा उछालले अर्थतन्त्रलाई गतिशील बनाएको देखिन्छ।
यस्तो छ राष्ट्र बैंकले जारी गरेकाे आर्थिक विवरणकाे पूर्णपाठ-
प्रतिक्रिया