काठमाडाैं- माघ शुक्ल पञ्चमीको पवित्र अवसरमा आज काठमाडाैंको नासल चोकमा वसन्त पञ्चमी पर्व धूमधामसँग मनाइयो। विद्या, कला र सृजनाकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधनाको साथै वसन्त ऋतुको शुभारम्भलाई समेत चिन्हित गर्दै यो पर्व मनाइएको हो। नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको साइत अनुसार बिहान ७ः५५ मा हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको आयोजना गरिएको थियो।
वसन्त श्रवण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरू, सांसद, संवैधानिक निकायका प्रमुख तथा प्रदेश सभा सदस्यहरूले शिरकत गरे। हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले समारोहको सबै तयारी पूरा रहेको बताए।
आजकै दिन देशभर विद्यादेवी सरस्वतीको निष्ठापूर्वक पूजा आराधना गरिन्छ। चन्द्रमाको जस्तै गोरो वर्ण, हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, वागीश्वरी, बुद्धिदात्री लगायत विभिन्न नामले पुकारे। साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरूले आफ्ना कलम, किताब, वाद्ययन्त्रलाई देवीको प्रतीक मानी पूजा गरे। तान्त्रिक परम्परामा सरस्वतीलाई तारादेवीको रूपमा पनि पूजिन्छ।
सूर्य उत्तरायण हुँदै वसन्त ऋतुको सुरुवात हुने यस दिनलाई ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्तिको प्रतीक मानिन्छ। ऋग्वेदमा उल्लेखित वाग्देवीको पूजाले सर्वसिद्धि प्राप्त हुने विश्वास छ। यस दिन विद्यारम्भ, विवाह, बेलविवाह (इही) जस्ता कार्यमा साइत हेर्नुपर्दैन भन्ने लोकमान्यता रहेको छ। बालबालिकालाई नयाँ शिक्षा सुरु गराउन र नाक–कान छेड्न पनि यो दिनलाई शुभ मानिन्छ।
काठमाडाैं उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी, गैरीधारा स्थित नीलसरस्वती, ललितपुरको लेले मन्दिर लगायत ठाउँहरूमा बिहानैदेखि देवी सरस्वतीको दर्शन र आराधनाको लहर देखिएको छ। भक्तजनले सात गेडा अक्षता चढाएर विद्या र बुद्धिको कामना गरेका छन्। सरस्वती पूजाले मानिसमा चेतनाको ज्योति प्रज्वलित हुने धार्मिक विश्वास समाजमा गहिरिएको छ।
वसन्त पञ्चमीले न केवल धार्मिक आस्था, अपितु प्रकृतिको सौन्दर्य र सांस्कृतिक परम्पराको गौरव पनि प्रतिबिम्बित गर्छ। यो दिन समाजलाई ज्ञान, सृजना र सद्भावनाको सङ्केत दिने उत्सवको रूपमा सदैव अमर रहने देखिन्छ।
प्रतिक्रिया