माैसम पूर्वानुमान

देशभर मौसम सफा, भोलिदेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बढ्ने

सोमबार, २१ माघ २०८१, ०६ : ५९

काठमाडौं- आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने मौसमविद्हरूले बताएका छन्। हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले पहाडी तथा हिमाली भेगमा निलो आकाश खुल्नेछ भने तराईका कतिपय क्षेत्रमा बिहानको समय हुस्सु/कुहिरोको असर देखिनेछ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकामा बिहान केही हुस्सु देखिए पनि दिउँसो घाम लाग्नेछ। राजधानीमा आज बिहानको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहेको छ।

दिउँसोको समयमा देशका अधिकांश स्थानमा घाम लागे पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा आंशिक बदली हुने अनुमान गरिएको छ। यद्यपि, अहिलेको अवस्थामा वर्षा वा हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान शाखाले जनाएकाे छ ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रभाव नरहे पनि भोलि (मंगलबार) पश्चिमी न्यून चापीय प्रणाली भित्रिनेछ, जसका कारण पश्चिम नेपालका केही स्थानमा वर्षा हुने सम्भावना छ। मौसमविद्का अनुसार, गण्डकी प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका केही क्षेत्रमा वर्षा हुन सक्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ। तर, यी क्षेत्रहरूमा पनि सबै भूभाग प्रभावित हुने छैनन्, वर्षा छिटफुट रूपमा मात्र हुनेछ।

मौसमविद्हरूका अनुसार, बुधबारदेखि न्यून चापीय प्रणाली कमजोर हुँदै जानेछ, जसका कारण देशभरि नै मौसममा सुधार आउनेछ। बुधबारदेखि अधिकांश क्षेत्रमा घाम लाग्ने, आकाश सफा रहने तथा तापक्रममा केही सुधार आउने अपेक्षा गरिएको छ।

यदि तपाईं गण्डकी, लुम्बिनी, कर्णाली वा सुदूरपश्चिम प्रदेशमा हुनुहुन्छ भने हावापानी परिवर्तनशील रहनेछ। यात्रा वा अन्य योजना बनाउनु अघि स्थानिय मौसम अपडेट चेक गर्नुहोला।

नेपालको मौसम परिवर्तनशील हुने भएकाले दैनिक अपडेट लिनु महत्वपूर्ण हुन्छ। अहिले नै चिसो मौसम रहेकोले तापक्रम घट्ने स्थानमा विशेष सतर्कता अपनाउन मौसमविद्हरूको सुझाव छ।

सोमबार, २१ माघ २०८१, ०६ : ५९

प्रतिक्रिया