प्रेस काउन्सिलको कडा अनुगमन : १० मिडिया कालोसूचीमा, ५४ युट्युब च्यानलविरुद्ध कारबाही

सोमबार, २१ माघ २०८१, ०९ : ५९

काठमाडौं- प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा आचारसंहिता उल्लङ्घन तथा अनियमितता रोकथामका लागि व्यापक अनुगमन गर्दै आएको छ। आ.व. २०८१/८२ को साउनदेखि माघ १५ गतेसम्म २४७ मिडियाविरुद्ध १५६ उजुरी र १ जनगुनासो दर्ता भएका छन्। गालीबेइज्जती, चरित्रहत्या, मानहानीसम्बन्धी ५६, गलत तथा भ्रामक सामग्रीसम्बन्धी ८७, बार्गेनिङका ४ र हुबहु सामग्रीका ९ उजुरी छानबिन गरिएको छ। यस अवधिमा १५६ उजुरीमध्ये ९० (५७.६९%) उजुरी समाधान गरिएका छन् भने अघिल्लो वर्षका प्रक्रियामा रहेका ९६ उजुरीसहित कूल १८६ उजुरी फछ्र्यौट भएका छन्। स्वअनुगमनमा परेका २८७ सामग्रीमध्ये २६९ सामग्रीको समाधान गरिएको छ।

आचारसंहिताको अवज्ञा गर्ने १० अनलाइन मिडियालाई कालोसूचीमा राखी कारबाही अगाडि बढाइएको छ। टिभी अन्नपूर्ण डटकम, योहो टेलिभिजन, त्रिनेत्रपोष्ट साप्ताहिक, खोजतलास अनलाइन डटकमले क्षमायाचना गर्दै आचारसंहिताको पालना गर्ने प्रतिबद्धता जनाएपछि सूचीबाट हटाइएको छ। तर, एबीपीकाइमन्यूज, सेतोखरी, कोशीपोष्ट, हेर्दाहेर्दै, दियोपोष्ट, नेपालकथा भने अझै कालोसूचीमै रहेका छन्। तीमध्ये एबीपीकाइमन्यूज, दियोपोष्ट र हेर्दाहेर्दै डटकमलाई सूचीबाट समेत हटाइएको छ।

युट्युब च्यानल तथा सामाजिक सञ्जाल नियमन गर्न प्रेस काउन्सिलले 'युट्युब व्यवस्थापन, सूचीकरण तथा अभिलेखीकरणसम्बन्धी कार्यविधि २०८०' लागू गरेको छ। २०८१ साउनदेखि माघ १५ सम्म हिंसा, आतङ्कलाई प्रश्रय दिने, द्वन्द्व फैलाउने, अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने ४ युट्युब च्यानल, १ फेसबुक पेज तथा ५ अनलाइन मिडियालाई निर्देशन दिइएको छ भने ४ लाई सचेत गराइएको छ।

अतिरञ्जित थम्बनेलसहित भ्रम फैलाउने, अश्लील तथा अमर्यादित सामग्री सम्प्रेषण गर्ने ५४ युट्युब च्यानल र ५ फेसबुक पेजविरुद्ध साइबर ब्युरोमा पत्राचार गरिएको छ। प्रेस काउन्सिलले सम्पूर्ण सञ्चार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पत्रकार आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै नियोजित रूपमा गलत सूचना सम्प्रेषण नगर्न चेतावनी दिएको छ।

प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत रामशरण बोहराका अनुसार पत्रकारिताको विश्वसनीयता, नैतिकता र समाजप्रति उत्तरदायित्व कायम राख्न आचारसंहिता कार्यान्वयनमा कुनै सम्झौता गरिने छैन।

press councial

सोमबार, २१ माघ २०८१, ०९ : ५९

प्रतिक्रिया