काठमाडौं- बाँकेमा ३६ हजार ९५० किशोरी तथा बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय, बाँकेले सोमबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा जानकारी दिइएको हो ।
स्वास्थ्य कार्यालय, बाँकेका अनुसार खोप लगाइने लक्षित समुदायमा राप्तीसोनारीमा तीन हजार १८३, कोहलपुरमा सात हजार ४४८, बैजनाथमा चार हजार ११४, खजुरामा पाँच हजार ८७२, जानकीमा एक हजार ९५०, नेपालगञ्जमा नौ हजार ३१९, डुडुवामा दुई हजार ५८४ र नरैनापुरमा दुई हजार ४८० किशोरी तथा बालिका रहेका छन् ।
पहिलो चरणमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकाका २२ हजार ५८९ किशोरी तथा बालिकालाई यही माघ २२ गतेदेखि आगामी फागुन १ गतेसम्म खोप लगाइनेछ । दोस्रो चरणमा माघ ३० गतेदेखि राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका १२ हजार ३६१ किशोरी र बालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने पहिलो चरणको तयारी पूरा भएको भन्दै कार्यालयले १० वर्षदेखि १४ वर्षसम्मका किशोरी तथा बालिकालाई खोप लगाउन लागेको हो।नेपालगञ्जमा मौलाना, इमाम र मदरसाका शिक्षकसँग खोपका विषयमा छलफल भइसकेको छ भने विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरी र बालिकालाई खोप लगाइनेछ।
जिल्लामा ३७८ विद्यालयमा अध्ययनरत किशोरीलाई खोप लगाउन ४५९ खोप केन्द्र तोकिएका छन् । खोपकेन्द्र तीन सय ७८ विद्यालयमा र ८१ अन्यत्र रहेका छन् ।
प्रतिक्रिया