काठमाडाैं- सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आर्थिक सफलताको नयाँ उचाइ हासिल गरेको छ। कम्पनीले यस अवधिमा १९ करोड ६१ लाख रुपैयाँको नाफा आर्जन गर्दै अघिल्लो वर्षको तुलनामा ३.३७ प्रतिशतको वृद्धि गरेको छ।
कम्पनीको जीवन बीमा कोष ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ पुगेको छ, जसले २४.०३ प्रतिशतको उल्लेखनीय वृद्धिदर देखाउँछ। यससँगै, कुल बीमाशुल्क आर्जन ५ अर्ब ६ करोड ४७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.२४ प्रतिशतले बढेको छ। त्यस्तै, खुद बीमाशुल्क आर्जनमा १९.८३ प्रतिशतको वृद्धि हुँदै ४ अर्ब ९८ करोड १५ लाख रुपैयाँ पुगेको छ।
महाविपत्ति कोष ३८ करोड ६९ लाख रुपैयाँ पुगेको छ, जसले कम्पनीको जोखिम व्यवस्थापन क्षमतिलाई अझ बलियो बनाएको छ। रिटेन्ड अर्निङ ३२ करोड ८२ लाख रुपैयाँ तथा अन्य इक्विटी ४५ करोड ९८ लाख रुपैयाँमा सीमित भए पनि कम्पनीको वित्तीय सुदृढता कायम रहेको छ।
समीक्षा अवधिमा खुद दाबी भुक्तानी ५ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो। ग्राहक-केन्द्रित सेवा प्रतिबद्धताको परिणामस्वरूप कम्पनीले बीमितहरूको विश्वास अझ मजबुत बनाएको देखिन्छ।
हाल कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ७.८३ रुपैयाँ कायम भएको छ, जबकि अघिल्लो वर्ष यसको मूल्य ८.३५ रुपैयाँ थियो। पीई रेसियो ५६.७३ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२३.४४ रुपैयाँ कायम रहेको छ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सको निरन्तर प्रगति ग्राहकहरूको विश्वासको उपज हो। बीमाशुल्क आर्जनमा वृद्धि, जीवन बीमा कोषको विस्तार तथा जोखिम व्यवस्थापन सुदृढीकरणमार्फत कम्पनीले नयाँ उचाइका लक्ष्य प्राप्त गर्ने संकल्प लिएको छ। सुरक्षित भविष्यको मार्गचित्र कोर्दै, कम्पनीले उत्कृष्ट सेवा प्रदान गर्न कटिबद्ध रहेको पुष्टि गरेको छ।
प्रतिक्रिया