भरतपुरका किशोरीहरुलाई एचपिभी खोप अभियान सुरु, मेयर दाहालद्वारा उद्घाटन

मंगलबार, २२ माघ २०८१, १३ : ४५

काठमाडौं - भरतपुरका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने किशोरीलाई एचपिभी खोप लगाउन सुरु गरिएको छ । पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपिभी हो ।

विश्व क्यान्सर दिवसको अवसरमा मंगलबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले श्री मावि गौरीगञ्जबाट अभियानको उद्घाटन गरिन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले यो अभियानमा कक्षा ६ देखि १० मा पढ्ने सम्पूर्ण छात्राहरूलाई अनिवार्य सहभागी हुन आग्रह गरिन् ।भरतपुर महानगरले मेयर स्वास्थ्य कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने कार्य गरिसेको र अब भने विभिन्न उमेर समूहको लागि यस्तै अभियान ल्याउने बत्ताइन् ।

अभियान फागुन २ गतेसम्म अर्थात् १० दिनसम्म चल्नेछ । विद्यालय जाने ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरू र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका छात्राहरूलाई खोप लगाउन लागिएको स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिए। भरतपुर महानगरका स्वास्थ्य अधिकृत केशव भट्टका अनुसार विद्यालयका अध्ययनरत १६ हजार १ सय ६९ र विद्यालय बाहिरा रहेका ४ सय २३ गरी १६ हजार ५ सय ९२ जनालाई खोप लगाइने छ । 

खोप सेवाका लागि १ सय ९३ खोप केन्द्रहरू, २ सय १ जना स्वास्थ्यकर्मी र ४ सय २ जना स्वास्थ्यकर्मी खटिने छन् । आगामी वर्षदेखि कक्षा ६ मा अध्ययन गर्ने छात्रालाई फागुन महिनामा नियमित खोप दिने तालिका रहेको अधिकृत भट्टले जानकारी दिए ।
 

मंगलबार, २२ माघ २०८१, १३ : ४५

प्रतिक्रिया