काठमाडौं - नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल (क्रान्तिकारी) को निर्वाचनबाट पार्टीमा नयाँ शक्तिकेन्द्रको उदय भएको महशुस गरिएको छ । अध्यक्षमा प्रचण्ड पक्षीय उम्मेदवारले जिते पनि अधिकांश पदाधिकारीमा उपमहासचिव जनार्दन शर्मा पक्षधरहरुले जित हात पारेपछि शक्ति संघर्ष नयाँ मोडमा जाने आँकलन गर्न थालिएको छ ।
प्रचण्ड पक्षधर उ्रम्मेदवारलाई अर्का उपमहासचिव शक्ति बस्नेतको भनेर प्रचार गरिएको थियो । यस निर्वाचनमा उपाध्यक्ष नारायणकाजी र उपमहासचिव वर्षमान पुन निकै कमजोर देखिए । माओवादी पार्टी पंक्तिमा हेडक्वाटरलाई दुरुपयोग गरिएको र त्यसमा केही नेताहरु प्रयोग भएको चर्चा चल्ने गरेको पाइन्छ ।
निर्वाचनपछि परिस्थिति सामान्य होला भन्ने सोचिए पनि अवस्था त्यस्तो देखिएको छैन । प्रदेश अध्यक्षहरुले वरियताको विषय उठाएका छन् । उनीहरुले प्रदेश अध्यक्षहरुलाई केन्द्रको उपाध्यक्ष सरहको वरियता दिनुपर्ने माग राखेका छन् । यो माग पुरा नभए सशक्त प्रतिवाद गर्ने उनीहरुको योजना रहेको छ । अर्कोतर्फ अध्यक्ष हात पार्न सफल भएको हेडक्वाटरको अर्को योजनामा पनि ठेस लागेको छ ।
उपमहासचिव शक्ति बस्नेत आफ्नो उम्मेदवार विजयप्रकाश सापकोटालाई जिताउन सहयोग गर्ने पूर्व पदाधिकारीहरुलाई बैकल्पिक केन्द्रीय सदस्य बनाउन चाहन्थे । उनकै अध्यक्षतामा क्रान्तिकारीको पूर्व अध्यक्ष पञ्चा सिंह र हिमाल शर्मा सदस्य रहेको कार्यदल बनेको थियो । यो कार्यदलले ३२ वर्षे उमेरहद लागेर बाहिरिएका पदाधिकारीहरुलाई पार्टीमा सक्रिय बनाउन वैकल्पिक केन्द्रीय सदस्य बनाउन सिफारिश गरेको थियो । तर पार्टी पदाधिकारी बैठकमा सहमति जुट्न नसकेपछि शक्तिको यो योजना सफल हुन सकेन । ‘अन्धभक्त भएर हेडक्वाटरलाई सहयोग गरेको बेकार भयो’ भन्दै एक पूर्व पदाधिकारीले आजको अर्थसित आक्रोश पोखेका छन् ।

प्रतिक्रिया