राजनीतिक नियुक्तिमा बेथिति

सार्वजनिक संस्थानको विज्ञापनमा योग्यता निर्धारण एकातिर, दरखास्त स्वीकृत र नियुक्ति अर्कैतिर

मंगलबार, २२ माघ २०८१, १६ : ५६

काठमाडौं- नेपाल सरकार अन्तर्गतका विभिन्न सार्वजनिक संस्थानहरुमा खुलाइने विज्ञापनमा योग्यताको मापदण्ड एउटा निर्धारण गर्ने अनि सो अनुरुप रीत नपुगेकाहरुको दरखास्त स्वीकृत गर्दै अर्कैलाई नियुक्त गर्ने प्रचलन बढेको छ ।

सार्वजनिक संस्थानको सञ्चालक समिति अध्यक्ष, सदस्य र महाप्रवन्धक लगायतका महत्वपूर्ण पदहरुको विज्ञापन खुलाएर त्यसका लागि आवश्यक योग्यता निर्धारण गरिए पनि नियुक्ति भने त्यस विपरीत गरिँदै आइएको छ ।

नियमावली संशोधन गरेरै या नयाँ कार्यविधि बनाएरै भए पनि सम्बन्धित संस्थानका विभागीय मन्त्रालयका मन्त्रीको तजबिजमा नियुक्ति दिँदै आइएको विगतदेखिको दृष्टान्त छ। 

अहिले फेरि नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षका लागि खुलाइएको विज्ञापनमा निर्धारित योग्यताको मापदण्ड विपरीत दरखास्त स्वीकृत गरिएको छ भने नियुक्ति पनि आफू निकटकालाई दिलाउन चलखेल सुरु भएको छ ।

बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्षमा गत पुस २६ गते १५ दिनको समयावधि राखेर दरखास्त आह्वान गरे पछि त्यसमा १२ जनाको आवेदन परेको छ । यी मध्ये कतिपय बीमा प्राधिकरणले तय गरेको योग्यताको मादण्डभित्र नपरे पनि सञ्चालक समितिको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले उनीहरुको आवेदन स्वीकृत गरेको छ । 

यो पनि पढ्नुस्

बीमा प्राधिकरणको अध्यक्षमा मापदण्ड विपरीतका आवेदन स्वीकृत, योग्यता नपुगेकालाई नियुक्त गर्ने चलखेल

यस अघि सरकार मातहतका अन्य सार्वजनिक संस्थानमा समेत योग्यता नपुगेकालाई नियुक्त गरिएको भन्दै सर्वोच्चमा  रिट पर्ने गरेका छन् । त्यस्ता रिट उपर सर्वोच्चले सुनुवाई गर्दै कतिपय नियुक्ति खारेज समेत गरिदिएको छ ।

तर, राजनीतिक दलका नेताहरुले सम्बन्धित संस्थानका विभागीय मन्त्रालय सम्हाल्दा आफू निकटलाई नियुक्ति दिँदै आएका छन् । विभागीय मन्त्रीले क्षमतावान र विषय विज्ञ भन्दा पनि आफू र आफ्नो दल निकटलाई प्राथमिकता दिँदा सार्वजनिक संस्थानहरु धराशायी बन्दै गएका छन् । 

मंगलबार, २२ माघ २०८१, १६ : ५६

प्रतिक्रिया