काठमाडौं- नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदमा १२ जनाको आवेदन परेको छ । बीमा प्राधिकरणले गत पुस २६ गते १५ दिनको समयावधि राखेर दरखास्त आह्वान गरेको थियो ।
सोही समयभित्र आवेदन दिनेहरुमा कमलप्रसाद रेग्मी, देवराज रोका, शरद ओझा, चिरञ्जिवी चापागाई, विष्णुवावु मिश्र, वुद्ध काजी श्रेष्ठ, दामोदर वसौला, डिम प्रसाद पौडेल, राम शरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठ रहेका छन् ।
तर, यी दरखास्त दिएकाहरुमध्ये कतिपय बीमा प्राधिकरणले तय गरेको योग्यताको मादण्डभित्र नपरे पनि सञ्चालक समितिको अध्यक्षका लागि गठित सिफारिस समितिले उनीहरुले दिएको आवेदन स्वीकृत गरेको छ ।
बीमा प्राधिकरणले जारी गरेको आवेदनको सूचनामा अध्यक्ष पदका लागि बीमा, मौद्रिक, बैंकिङ, वाणिज्य शास्त्र, व्यवस्थापन,जन प्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरह उपाधि हासिल गरेको हुनुपर्नेछ । साथै सम्बन्धित क्षेत्रमा पाँच वर्षको कम्तीमा उच्च व्यवस्थापकिय कार्यानुभव भएको हुनुपर्ने प्रावधान राखिएको छ ।
साथै उच्च नैतिक चरित्र भएको, तीस वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको, भ्रष्टाचार सम्पत्ति शद्धीकरण, मानव बेचबिखन, लागू औषध कारोबार, पुरातात्विक बस्तु वा संरक्षित बन्यजन्तुसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुर नलागेको लगायत योग्यता तय गरिएको छ ।
बीमा प्राधिकरणले अध्यक्षका लागि तय गरेको योग्यताको मापदण्ड अनुसार दरखास्त दिएका १२ जनामध्ये चिरञ्जिीवी चापागाईं उल्लेखित कुनै पनि दायराभित्र पर्दैनन् । आवेदकका लागि तय गरिएको योग्यताको मादण्ड अनुसार उनको पाँच वर्षे कार्यानुभव कहीँकतै देखिँदैन ।
उनी यसअघि साविकको बीमा समिति(हालको बीमा प्राधिकरण)को अध्यक्ष हुन् । त्यसअघि नेपाल राष्ट्र बैंकको उपनिर्देशक पदमा कार्यरत थिए । त्यहीबाट चार वर्षको लागि बीमा समितिको अध्यक्षमा नियुक्त भएका उनी त्यहाँ चार वर्ष बिताएर बाहिरिएका थिए । प्राधिकरणले आवेदन माग गरेको अध्यक्ष पदमा पाँच वर्षे कार्यानुभव भनेर प्रष्टताका साथ उल्लेख गरेको छ । तर चापागाईं चार वर्षमै बाहिरिएका थिए ।
साथै उनले धितोपत्र बोर्डको अध्यक्षमा दरखास्त दिएर पाँच जनाको सूचीमा छनोट भएका थिए । तर, अन्तर्वार्तामा नगई सरकारविरुद्ध असन्तुष्टि पोखेर मुद्दामामिला प्रक्रियामा गएका थिए । उनै चापागाईंलाई अध्यक्षको नियुक्तिका लागि गठित सिफारिस समितिले कसरी योग्य ठानेर आवेदन स्वीकृत गर्यो भन्ने प्रश्न अहिले उठेको छ ।
यस्तै अर्का उम्मेदवार रामशरण पुडासैनी पनि निर्धारित योग्यताको मापदण्डभित्र पर्दैनन् । उनी अर्थमन्त्रालयको सचिवबाट अवकाश भए लगत्तै सोही मन्त्रालय अन्तर्गतकै सार्वजनिक संस्थान राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त भएका थिए । अहिले उनी कृषि विकास बैंकको अध्यक्ष पदमा छन् । अवकाश भएको पाँच वर्ष नपुग्दै नेपाल सरकारले कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएका उनीे हाल त्यही कार्यरत छन्।
बहालवाला व्यक्तिले अन्यत्र आवेदन दिँदा नियुक्ति दिने निकायसँग स्वीकृत लिनुपर्ने कानुनी प्रावधान छ । तर, उनले विद्यमान कानुनी प्रावधानलाई चुनौती दिँदै सरकारी स्वामित्वको एक संस्थानको पदमा बहाल रहेर अन्यत्र आवेदन दिएका छन् । कुन आधारमा उनमा उच्च नैतिक चरित्र भएको मानेर आवेदन स्वीकृत गरियो ? अहिले चौतर्फी यिनै प्रश्न उठेको छ ।
बीमा प्राधिकरणले सञ्चालक समितिको अध्यक्षका लागि तय गरेको योग्यताको मापदण्ड विपरित सरकारकै एक सार्वजनिक संस्थानमा नियुक्ति लिएका उनले अर्कोमा आवेदन दिएका हुन् । यसरी अर्थमन्त्रालय अन्तर्गतकै सार्वजनिक संस्थान बीमा प्राधिकरणको अध्यक्ष पदमा आवेदन स्वीकृत गरिँदा तोकिएको योग्यताको मापदण्ड विपरीत भएको प्रष्टै हुन्छ ।
पुडासैनीले दरखास्त दिँदा उनलाई नियुक्ति दिएको नेपाल सरकारको मन्त्रिपरिषदबाट हो र उनले त्यसबाटै स्वीकृत लिनुपर्नेमा त्यसो नगरी कानुनी प्रावधान विपरीत बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा आवेदन दिएका छन् ।
पुडासैनीले आफू मातहत काम गरेका अर्थ मन्त्रालयका कर्मचारीले नियमन गर्ने संस्थानमा अवकाश पाएको पाँच वर्ष नपुग्दै नियुक्ति लिएर फेरि नयाँ संस्थान चहार्ने कार्य सरासर विद्यमान कानुन विपरीत कार्य हो । तैपनि उनको आवेदन स्वीकृत गरिएर सम्भावित अध्यक्षका रुपमा प्रचार गरिएको छ ।
यस्तै अर्का उम्मेदवार शरद ओझाको पनि विज्ञापनमा माग भए बमोजिम योग्यता नपुगे पनि दरखास्त स्वीकृत गरिएको छ । उनी मिडिया सञ्चालक हुन् । क्लिकमाण्डु नामक अनलाइनका सञ्चालक रहेका उनले कांग्रेस सभापति शेरबहादुर देउवाको निकटस्थ देखाएर बीमा प्राधिकरणको अध्यक्षमा नियुक्ति लिने दाउमा छन् ।
ओझाका बुबा देउवाका गुरु हुन् । सोही सम्बन्ध मार्फत देउवा रिझाएर बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा नियुक्ति लिन सकिने आशामा उनले दरखास्त दिएका छन् । यसबाहेक उनको अन्य कुनै पनि तोकिएको योग्यता पुग्दैन ।
यसअघि सार्वजनिक संस्थानहरुमा औपचारिकताका लागि मात्रै दरखास्त आह्वान गरिने र नियुक्त गरिने पात्र पहिल्यै निक्र्योल गरिने प्रचलन देखिँदै आएको हो ।
विभिन्न सार्वजनिक संस्थानहरुमा आवेदन दिएकाहरु मध्ये छनोट हुनु अगावै नियुक्त हुनेको नाम सञ्चारमाध्ययमा सार्वजनिक हुने गर्दथ्यो ।
यसपाली पनि बीमा प्राधिकरणमा रामशरण पुडासैनीको नियुक्ति निश्चित भन्दै सञ्चारमाध्यममा समाचार आइरहेका छन् । दरखास्त आह्वान अगावै तय गरिएको पात्रलाई नै नियुक्ति दिलाउने हो भने यसरी छनोटको नाटक मञ्चन किन गरिन्छ ? भन्ने प्रश्न सर्वत्र उठेको छ ।
प्रतिक्रिया