काठमाडौं– आफ्नै अभिव्यक्तिका कारण बेला बेला चर्चामा आइरहने एक पात्र हुन्, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । उनका सनसनीपूर्ण अभिव्यत्तिले जहिले पनि राजनीतिक वृत्त तरंगित हुँदै आएको छ ।
तथ्य भन्दा पनि भावना बगेर बोल्दा प्रचण्ड चिप्लिने गरेका छन् । सत्य तथ्य भन्दा पनि कुण्ठा र आक्रोशले भरिएका उनका अभिव्यक्तिमा खासै दम भने हुँदैन । कहिले काही त उनलाई यी अभिव्यक्तिहरु भारी पर्ने गरेका छन् ।
एक पटक पूर्वप्रधानमन्त्री सूर्य बहादुर थापाले प्रचण्डको अभिव्यक्तिलाई लक्षित गर्दै उनलाई केटाकेटीपनको संज्ञा दिएका दिए । बोलीमा अडिग हुन नसक्ने नेताको ट्याग पनि प्रचण्डमाथि लाग्दै आएको छ । शनिबार पाँचथर पुगेर प्रचण्डले दुई तिहाईको सरकार भिजेको बिरालो जस्तै भएको अभिव्यक्ति दिएका थिए ।
प्रचण्डको यस अभिव्यक्तिलाई एमालेका महासचिव शंकर पोखरेलले काउन्टर गरेका छन् । प्रचण्डको अभिव्यक्तिपछि पोखरेल उनीमाथि खनिएका छन् । सरकार लक्षित प्रचण्डको अभिव्यक्तिलाई सत्ता गुमाउनुको पीडाको रुपमा अथ्र्याउदै आएका पोखरेलले फेरि पनि बुँदागतरुपमा त्यस्तै प्रतिवाद गरेका छन् । गत वर्ष चैत्र ३१ मा प्रचण्डले वर्तमान सत्ता गठबन्धन २०८२ भित्र परिवर्तन हुने र नयाँ सरकार बन्ने दाबी गरेका थिए ।
प्रचण्डलाई सत्ता बाहिर बस्नै नसक्ने नेताको आरोप लाग्दै आएको छ । कांग्रेस र एमालेलाई प्रयोग गरी सत्तामा पुग्ने पनि सहमति कार्यान्वयन नगर्ने प्रचण्डको पुरानै प्रवृति हो । प्रचण्डबाट पाएको धोकाका कारण कांग्रेस र एमालेको गठबन्धन निर्माण भएको विश्लेषण पनि हुँदै गएको छ । उसो त उनी मात्रै नभएर माओवादीका कतिपय नेताले गठबन्धन सरकारको औचित्यमाथि प्रश्न उठाउँदै आएका छन् ।
प्रतिक्रिया