काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवाले काठमाडौं पाँच तारे हिल्टन होटल किनेको चर्चा चुलिएको छ । आधिकारिक रुपमा पुष्टि नभएपनि सामाजिक संजालमा कतिपय प्रयोगकर्ताले हिल्टन होटल देउवापुत्र जयवीरले किनेको दाबी गरेका छन् । आजको अर्थले यस विषयमा बुझ्न खोज्दा देउवाको सचिवालसँग सम्पर्क हुन सकेन ।
पूर्वप्रधानमन्त्री देउवा र बहालवाला परराष्ट्रमन्त्री आरजु राणाका छोरा जयवीर राजनीतिक पृष्ठभूमिकाका व्यक्ति हुन् । तर, उनी भने राजनीति भन्दा पनि व्यापार व्यवसायमा सक्रिय छन् । हिल्टन होटल किनेको चर्चापछि देउवाको परिवारको चर्को आलोचना भइरहेको छ । राजनीतिको निर्णायक तहमा पुगेको यो परिवारले सबै क्षेत्रमा कब्जा जमाएको आरोप लाग्दै आएको छ ।
परराष्ट्रमन्त्री आरजु राणा पनि विभिन्न व्यापार व्यवसायमा सक्रिय छिन् । ललितपुरको युनेस्क स्कुल लगायत धेरै ठाउँमा उनको लगानी छ । जुन स्कुल काठमाडौं उपत्यकाकै महंगो मानिन्छ । राणाको पृष्टभूमि पनि व्यापारिक घराना नै हो । उनी काठमाडौंकै राणा परिवारकी छोरी हुन् । आरजुका भाइ भुषण राणा पनि विवादित व्यवसायी हुन् । भाइ भुषणको व्यावसायिक हितका लागि आरजूले दबाब दिएर विभिन्न सरकारी निर्णय गर्न लगाएको आरोप लाग्दै आएको छ ।
आरजु आफैंसँग अर्बोको सम्पति रहेको सर्वत्र चर्चा छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कैलालीबाट प्रत्यक्ष उम्मेदवार बनेकी राणालाई विपक्षीले पाहुना उम्मेवार भनेपछि उनले रातारात धनगढीको करोडौको घर किनेकी थिइन् । त्यसपछि आरजु झन चर्चामा आइन् । निर्वाचनमा भने एमालेका नारदमुनी रानासँग उनी पराजित हुन पुगिन् ।
राजनीतिमा हालीमुहाली भएको देउवा परिवार विस्तारै व्यापारी क्षेत्रमा पनि कब्जा जमाउँदै गएको छ । कुनै बेला सामान्य परिवारमा हुर्किएर विद्यार्थी जिवनमै राजनीतिमा डेब्यु गरेका देउवा कसरी यति धनी बन्न पुग्ने भन्ने प्रश्न उठ्दै आएको छ । काठमाडौंको नक्सालमा रहेको हिल्टन होटल एक वर्षअघि मात्र संचालनमा आएको थियो । हिल्टन राजधानीकै महंगो र आलीशान पाँचतारे होटल मध्येको एक हो ।
यस विषयमा नक्सालस्थित हिल्टन होटेलसँग जानकारी लिन खोज्दा होटेल प्रशासनले यसबारे कुनै प्रतिक्रिया दिएन ।
प्रतिक्रिया