काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमले चुनौती पहिचान गरी निजी क्षेत्रसँगको पतिस्पर्धामा सेवा विस्तार गर्नुपर्ने बताएका छन् ।
नेपाल टेलिकमको २१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
मन्त्री गुरुङले नेपाल टेलिकमका दीर्घ सेवा पदकबाट सम्मानीतसहित सम्पूर्ण कर्मचारीलाई शुभकामना दिदैं भने, ‘एनसेल जस्तो नेपाल टेलिकमभन्दा ६ गुणा कम कर्मचारी भएको कम्पनीसँग मात्र हाम्रो प्रतिस्पर्धा नभएर सेवामा सम्पूर्ण कर्मचारी कतव्र्यनिष्ठा हुनुपर्नेमा उनले जोड दिए ।’
उनले नेपाल टेलिकम सरकारी कार्यालयहरुमध्येको एक गौरवशाली र महत्वपूर्ण कम्पनी रहेको भन्दै टेलिकमले गाउँगाउँमा सेवा विस्तार गर्न विशेष जोड दिनुपर्ने बताए । उनले भने, ‘ एनटिसीले प्रोगाम बनाएर फोरजी एलटीई गाउँगाउँमा र घरघरमा पुर्याउन पर्छ । ग्राहक भनेको व्यक्तिमात्र नभएर व्यापार र सेवा क्षेत्र पनि हो यसको विस्तारमा जोड दिनुपर्छ ।’
टेलिकममा कम्तीमा पनि २५ प्रतिशत शेयर सर्वसाधारणलाई दिनुपर्ने धारणा मन्त्री गुरुङले व्यक्त गरेका छन् । उनले अहिले सर्वसाधारण शेयरको हिस्सा कम हुँदा जनतामा अपनत्व कम महसुस भएको भन्दै शेयर बढाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘अहिले टेलिकममा ९२ प्रतिशत सरकारी र ८ प्रतिशत मात्र व्यक्तिको शेयर रहेको छ । यही आर्थिक वर्षभित्र हामीले प्रक्रिया थाल्ने छौँ । सुरुमा नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणमा जनताको शेयर बढाउने छौँ। हामीले आरटीडीएफ उठाएर सेवा दिन नसके त्यो जनताप्रति धोका हुनेछ ।’
मन्त्री गुरुङले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकको बारेमा बोल्दै लोकतन्त्र बलियो बनाउनका लागि सामाजिक सञ्जालमा बढेको अराजकतालाई नियमन गर्न आवश्यक रहेको यसैका लागि विधयेक ल्याउन लागेको भन्दै विधयेकको विरोध नगर्न आग्रह गरेका छन् ।
उनले टेलिकमको आम्दानी बढाउन धेरै जनसंख्या भएका मधेस प्रदेशमा कम सेवा पुग्नुको कारण खोजी त्यहाँलगायत पूर्वदेखि पश्चिमसम्मका सबै क्षेत्रमा नेटवर्कलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन् ।
प्रतिक्रिया