काठमाडौं- आगामी तीन दिन काठमाडौँ उपत्यकामा पानी नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्हरूका अनुसार राजधानीको आकाश आंशिक बदली रहने भए पनि वर्षाको सम्भावना छैन, जसले उपत्यकावासीलाई चिसो मौसममा केही राहत मिल्नेछ।
हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भए पनि अन्य भू-भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ। तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लागेको छ, जसले यातायातमा केही प्रभाव पार्न सक्ने देखिन्छ।
आज दिउँसो देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहनेछ। विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
रातिको समयमा पनि पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा खुला आकाश देख्न सकिनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना कायमै रहेको छ।
मौसमविद्हरूका अनुसार आगामी २४ घण्टामा हिमाली क्षेत्रमा हुने सम्भावित हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।
यसैबीच, विभागका मौसमविद् विनु महर्जनका अनुसार काठमाडौं उपत्यकामा चिसो यथावत् रहनेछ। आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन गरिएको छ भने दिउँसो अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसबीच रहने अनुमान गरिएको छ।
हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा बिहानै यात्रा गर्दा विशेष सतर्कता अपनाउनुपर्ने सुझाव दिइएको छ। राजधानीवासीले भने आगामी केही दिन खुला आकाश र चिसो घामको आनन्द लिन सक्नेछन्।
प्रतिक्रिया