अब विदेशमै श्रम स्वीकृति! ओमानमा नेपाली श्रमिकका लागि ऐतिहासिक पहल

बुधबार, २३ माघ २०८१, ०७ : ४३

काठमाडाैं- अब विदेशमा रहेका नेपाली श्रमिकहरूले श्रम स्वीकृतिका लागि स्वदेश फर्कनु पर्दैन, किनभने सरकारले विदेशमै श्रम स्वीकृति प्रदान गर्न थालेको छ। नेपाली श्रमिकहरूको सुविधाका लागि मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा प्रारम्भ गरेको छ।

गत शुक्रबार र शनिबार सलालामा आयोजित "राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी विशेष कार्यक्रम" अन्तर्गत पहिलो पटक श्रम स्वीकृति वितरण गरिएको हो। नेपाली श्रमिकहरूको अधिकार सुनिश्चित गर्न यो कदम अत्यन्तै महत्वपूर्ण मानिएको छ।

विभिन्न माध्यमबाट ओमान पुगेका तर श्रम स्वीकृति नलिएका नेपाली श्रमिकहरूलाई नेपाली राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले संयुक्त रूपमा श्रम स्वीकृति प्रदान गरेको हो। यो ऐतिहासिक पहलले श्रमिकहरूको कानुनी पहिचान मजबुत बनाउने र उनीहरूलाई सुरक्षित रोजगारीको प्रत्याभूति गराउने विश्वास गरिएको छ।

सोही अवसरमा राजदूत अर्यालले नेपाली श्रमिकहरूको हकहित संरक्षणका लागि दूतावास सधैं तत्पर रहेको बताउँदै श्रमिकहरूको सुरक्षालाई पहिलो प्राथमिकता दिने प्रतिवद्धता जनाए। त्यस्तै, वैदेशिक रोजगार विभागका महानिर्देशक खत्रीले श्रम स्वीकृति बिना विदेश जानुका जोखिमबारे चेतावनी दिँदै वैधानिक प्रक्रियामार्फत काम गर्न अनुरोध गरे।

सरकारको यो नीतिले विदेशमा रहेका हजारौं श्रमिकहरूलाई सहज बनाउने विश्वास गरिएको छ। अब अन्य देशहरूमा पनि यस्ता कार्यक्रम विस्तार हुने आशा गरिएको छ। नेपाली श्रमिकका लागि यो कदम सकारात्मक मात्र नभई ऐतिहासिक उपलब्धि पनि हो।

बुधबार, २३ माघ २०८१, ०७ : ४३

प्रतिक्रिया