काठमाडाैं- नेपाली सिनेमामा आफ्नै शैली र सौन्दर्य भरेका निर्देशक तुलसी घिमिरे पुनः निर्देशनमा फर्किएका छन्। जीवनका अनगिन्ती रंगहरूलाई पर्दामा उर्तान सफल घिमिरेको नयाँ सिर्जना ‘पहाड’ को आजदेखि गोरखाको ऐतिहासिक माटोमा छायाङ्कन शुभारम्भ भएको छ। गोरखा दरबारमा विधिपूर्वक पूजा गरेपछि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र नवअभिनेत्री पञ्चमी घिमिरेको दृश्य खिच्दै यो चलचित्रको सुन्दर यात्रा सुरू गरिएको हो।
समयको प्रवाहसँगै जनशक्ति विदेश पलायन हुँदै गर्दा पहाडहरू निर्जन बनेका छन्। यही कठोर यथार्थलाई कथानक बनाउँदै ‘पहाड’ ले समाजका सामाजिक तथा आर्थिक पीडाहरू उजागर गर्नेछ। गोरखा वरिपरिका रमणीय भेगमा २५ दिनसम्म छायाङ्कन गरिने चलचित्रबारे निर्देशक घिमिरे भन्छन्, “समाजको तीतो यथार्थलाई पर्दामा जीवित पार्न खोजेको छु। मानिसहरू बिस्तारै ओझेल पर्दै गएका उचाइहरूमा जीवनको कथा समेटिएको छ। नयाँ र पुरानो पुस्तासँग काम गर्दा छुट्टै ऊर्जा अनुभूति भइरहेको छ।”
यो चलचित्र निर्देशक घिमिरेका लागि मात्र नभई, उनकी छोरी पञ्चमी घिमिरेका लागि पनि विशेष छ। किनभने ‘पहाड’ मार्फत पञ्चमीले अभिनयको पहिलो पाइला चालिरहेकी छिन्। चलचित्रकर्ममा छोरीको आगमनप्रति हर्षित हुँदै निर्देशक घिमिरेले भने, “आफू अँगाल्दै आएको सपनालाई सन्तानले अघि बढाउँदा त्यो खुसी शब्दमा व्यक्त गर्न सकिन्न।”
नागरिकको दायित्व, माटोको महत्त्व र देशको आवश्यकतालाई चित्रण गर्ने ‘पहाड’ लाई ओजस्वी केसीले निर्माण गरिरहनुभएको छ। छायाङ्कनको जिम्मेवारी कुशल सिनेमाटोग्राफर प्रमोद प्रधानले सम्हालेका छन् भने विपिन कार्की, सुनिल थापा जस्ता चर्चित कलाकारहरूको अभिनयले चलचित्रलाई थप जीवन्त बनाउनेछ। नेपाली चलचित्र संगीतका एक युगप्रवर्तक रञ्जित गजमेरले संगीत भर्ने तयारी गर्दै छन्।
नेपाली समाजको वास्तविकतालाई उजागर गर्ने ‘पहाड’ ले सिनेप्रेमीको मन छोला कि छोला? समयले नै बताउनेछ।
प्रतिक्रिया