सुक्खा पृथ्वी, नमिठो पीडा: किसानका सपनामा हिउँदे वर्षाको प्रतीक्षा

बुधबार, २३ माघ २०८१, ०८ : ०७

महोत्तरी- आकाशले आफ्नो आँखा बन्द गरिरहँदा पृथ्वीका छाती चिरा परेका छन्। सिङ्गो हिउँद बित्न लाग्दासमेत वर्षाको एक थोपा नखस्दा महोत्तरीका किसान निराश छन्। वसन्तपञ्चमी मनाइसक्दा पनि वर्षा नहुँदा खेतबारी रित्तिन थालेका छन्, तर हृदय भने पीडाले भरिएका छन्।

"हिउँद पानी नपरी बित्यो," टोकीटोलका ६० वर्षीय किसान रामचन्द्र थापा मगर भन्छन्, "खै, अब हिउँदे बाली भित्र्याउन पाइएला जस्तो छैन।" स्थायी सिँचाइको सुविधा नपाएका किसानहरू इनारको पानी मोटरले तानेर खेतलाई जीवन दिन्थे, तर यसपालि वर्षा नभएपछि इनारको पानीसमेत गहिरिँदै गएको छ। मोटरले पानी तान्नै नसक्ने अवस्था आउँदा किसानका सपनाहरू ओइलाउन थालेका छन्।

माघको अन्तिम साता लागिसक्दा पनि हुस्सुले गाउँ छोडेको छैन। न घामले आफ्नो उज्यालो छर्यो, न आकाशले खेतका निम्ति एक थोपा रसाएको छ। बर्दिवासका ७० वर्षीय विन्देश्वर यादव भन्छन्, "आकाश धुम्मिएको धुम्मियै छ, पानी पर्ने कुनै संकेत देखिँदैन।" पानी नपर्दा माटो रुखो भइदिएपछि तरकारीबाली झन् कठाङ्ग्रिएका छन्।

भङ्गाहा–४ का ७५ वर्षीय इस्लाम राइन भन्छन्, "यो हामीले पहिले देखे भोगेभन्दा फरक हुँदैछ।" ऋतुहरूको अनुहार बदलिएसँगै किसानका अनुभूतिहरू पनि बिस्तारै अविश्वासमा परिणत भएका छन्। गहुँ, उखु, दलहन बालीले बढ्नै सकेका छैनन् भने भण्टा, रामतोरीया, खुर्सानीजस्ता तरकारी ओइलिन थालेका छन्। गौशाला–११ का भोगेन्द्र महतो भन्छन्, "माटोमा चिस्यान नहुँदा हामी प्रतीक्षामै सीमित भएका छौँ।"

हिउँदे वर्षा जमिनका लागि मात्र नभई बालीनालीका लागि पनि अमृतसरह हुने किसानहरूको अनुभूति छ। वैशाखी लहरे तरकारी, उखु, आँप, लिची जस्ता फलका बोटबिरुवाले हिउँदे वर्षाको पोषण पाएपछि मात्रै लहलहाउँछन्। तर, यसपालि न त आकाशले बरसिने संकेत देखायो, न त किसानले खेतबारीमा जीवनको हरियाली देख्न पाए।

खानेपानीका स्रोतहरू पनि संकटमा छन्। बर्दिवास–१२ का ६५ वर्षीय किसान रामविलास सिंह भन्छन्, "खानेपानीका मुहान सुके, इनार र चापाकलहरू सुक्ने अवस्थामा छन्।" भुल्के (जरुवा) पानीका मुहानमा पानी देखिन छाडेको छ। फलका बोटहरूमा मञ्जरी कम लाग्ने, लागेकै पनि झर्ने डरले किसानहरू झन् चिन्तित छन्।

औरही–७ का अनुभवी किसान मोहन महतो भन्छन्, "हिउँदे वर्षा बालीको लागि सिँचाइ मात्र हैन, पोषण र रोगप्रतिरोधका लागि पनि रामवाण हो।"

महोत्तरीका ७० हजार हेक्टर खेतीयोग्य जमिनमध्ये मात्र १० प्रतिशत कुलो सिँचाइको पहुँचमा छ। कुलो पुगेका जमिनमा पनि पानीका स्रोतहरू सुकेपछि अब बाली सिञ्चित गर्ने आशा मेटिँदै गएको छ।

आकाशको मौनताले किसानको जीवनको चक्र नै ठप्प पार्न लाग्दा उनीहरूका आँखामा आशाको प्रतीक्षा देखिन्छ। अब वर्षाले आकाशबाट नझरुन्जेल किसानका यी आँसुले नै माटोलाई नमी बनाइरहने छ।

 
बुधबार, २३ माघ २०८१, ०८ : ०७

प्रतिक्रिया