फाेटाे : रासस
काठमाडाैं– अष्ट्रेलियाका लागि नेपालकी नव नियुक्त राजदूत चित्रलेखा यादवले मंगलबार क्यानबेरामा आयोजित विशेष समारोहमा अष्ट्रेलियाका गभर्नर जनरल साम मोस्टिन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन्। उक्त समारोहमा अष्ट्रेलिया सरकारका उच्चपदस्थ अधिकारीहरू तथा नेपाली दूतावासका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
प्रमाणपत्र प्रस्तुतिपछि राजदूत यादवले गभर्नर जनरल मोस्टिनसँग शिष्टाचार भेटवार्ता गरिन्। सो अवसरमा उनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल का तर्फबाट अष्ट्रेलियाली जनताका लागि शुभकामना सन्देश व्यक्त गर्दै गभर्नर जनरललाई नेपाल भ्रमणको औपचारिक निम्तो दिइन्।
भेटवार्ताका क्रममा नेपाल-अष्ट्रेलिया सम्बन्धलाई अझ मजबुत बनाउने, पारस्परिक हित र सहकार्यलाई प्रवर्द्धन गर्ने विषयमा गहन छलफल भएको थियो। दुई देशबीचको राजनीतिक, आर्थिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहने विश्वास राजदूत यादवले व्यक्त गरिन्।
नेपालस्थित अष्ट्रेलियाली लगानी, व्यापार, शिक्षा तथा पर्यटन प्रवर्द्धनका सम्भावनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल भएको बताइएको छ। दूतावासद्वारा जारी विज्ञप्तिअनुसार, राजदूत यादवले परस्पर विश्वास, सहकार्य र समझदारीमा आधारित सम्बन्धलाई थप सशक्त बनाउने आफ्नो प्रतिबद्धता जाहेर गरेकी छिन्।
यो भेटवार्ताले नेपाल-अष्ट्रेलिया कूटनीतिक सम्बन्धलाई अझ सशक्त बनाउने तथा दुई देशबीचको सहयोगलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया