काठमाडौं- नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतकी अधिराजकुमारी डचेस सोफिया आज कीर्तिपुरस्थित ‘कीर्तिपुर आँखा अस्पताल’ पुगेर अस्पतालका सेवा तथा सेवाग्राहीहरूसँग विशेष भेटघाट गरेकी छिन्।
नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित उक्त अस्पतालले विसं २०७४ देखि सेवा प्रदान गर्दै आएको छ। बेलायतको विकास साझेदार संस्था ‘रिड्ली आइ फाउण्डेसन’को सहयोगमा नेपालका विकट उच्च पहाडी क्षेत्रमा निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको अस्पतालले उल्लेखनीय सेवा प्रदान गरिरहेको छ।
अधिराजकुमारी सोफिया आँखा स्वास्थ्य सेवाको अन्तर्राष्ट्रिय अभियान ‘द इन्टरनेसनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी)’ की विश्व सद्भावना दूत (ग्लोबल एम्बेस्डर) हुन्। अन्धोपन निवारण गर्ने विश्वव्यापी अभियानमा सक्रिय उहाँले आँखा स्वास्थ्य क्षेत्रको प्रवर्द्धनका लागि विशेष योगदान दिँदै आएकी छिन्।
कीर्तिपुर आँखा अस्पतालको भ्रमणका क्रममा अधिराजकुमारी सोफियाले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा भएको प्रगतिको उच्च प्रशंसा गर्दै नेपालले आफ्नो प्राथमिक स्वास्थ्य प्रणालीमा आँखा उपचार सेवालाई अझ मजबुत बनाउनु पर्ने सुझाव दिएकी छिन्। नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा. डा. चेतराज पन्तका अनुसार नेपालले जनस्वास्थ्य समस्याका रूपमा रहेको ट्रकोमा रोगलाई निवारण गर्न सफल भएको जानकारी पाएपछि अधिराजकुमारी सोफिया अत्यन्त प्रभावित भएकी थिइन्।
उक्त अवसरमा संघका महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र, कीर्तिपुर आँखा अस्पताल व्यवस्था समितिका अध्यक्ष प्रा. डा. सविना श्रेष्ठ र मेडिकल निर्देशक डा. एरिक वैद्यले अस्पतालका सेवा सुविधाका विषयमा अधिराजकुमारीलाई जानकारी गराएका थिए।
नेपाल नेत्रज्योति सङ्घले देशभर ६७ जिल्लामा स्थायी आँखा उपचार केन्द्र स्थापना गरिसकेको छ। सङ्घको सञ्जालमार्फत हालसम्म चार करोड ३६ लाखभन्दा बढी नागरिकलाई आँखा उपचार सेवा प्रदान गरिसकेको छ भने ५१ लाखभन्दा बढी व्यक्तिको आँखाको शल्यक्रिया भइसकेको छ। वर्तमान अवस्थामा २८ आँखा अस्पताल, १६० आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखा सञ्चालनमा रहेका छन्।
संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार ड्युक अफ एडिनबरा एडवार्ड र अधिराजकुमारी डचेस सोफी मंगलबार नेपाल भ्रमणमा आएका थिए। नेपालको स्वास्थ्य प्रणाली विशेषतः आँखा उपचार सेवाको अवलोकन तथा सहयोग विस्तारका लागि भएको यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।
प्रतिक्रिया