काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी शक्तिहरूको ध्रुवीकरणलाई सकारात्मक संकेतका रूपमा व्याख्या गरेका छन्। उनले पार्टी प्रवेश कार्यक्रममा बोल्दै देशव्यापी रूपमा माओवादीमा आकर्षण बढेको र क्रान्तिकारी धारहरू एक ठाउँमा आउन थालेको बताएका छन्।
अध्यक्ष प्रचण्डका अनुसार, समाजवादी क्रान्तिको दिशामा अघि बढ्न क्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्नु आवश्यक छ। माओवादी फुटाउनु क्रान्तिको मार्ग नभएको कुरा अब अनुभवले पुष्टि गरिसकेको उनले प्रस्ट्याए। केवल माओवादी केन्द्रलाई बलियो बनाएर मात्र सपना पूरा गर्न सकिने उनको धारणा छ।
हालै माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्व काठमाडौं जिल्ला सचिव खगेन्द्र छन्त्याल प्रमुख छन्। साथै, प्रदेश सचिवालय सदस्यहरू प्रेम तामाङ, केशर प्रधान, उमेश लामा, मीनकुमार राना मगर, रविन्द्र मिश्र, प्रदेश सल्लाहकार कुमारी थापा, प्रदेश सदस्य नोदराज रुचाल, पूर्व जिल्ला सदस्यहरू दाबा शेर्पा, मेघनारायण श्रेष्ठ, मानबहादुर तामाङ, किरण लामा, जिल्ला सदस्य पदम तामाङ, विकास तामाङ, रेखा रम्तेल, विकास के.सी., इन्द्र राई, आशा राना लगायतका महत्वपूर्ण नेताहरूको सहभागिता रहेको छ।
अध्यक्ष प्रचण्डले क्रान्तिकारी आन्दोलनलाई थप उचाइमा पुर्याउन सबै क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने बताए। उनले माओवादी आन्दोलनलाई सुदृढ बनाउँदै समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न सम्पूर्ण कार्यकर्ताहरूलाई सक्रिय रूपमा लाग्न निर्देशन दिए।
नेपालको राजनीतिक परिदृश्यमा माओवादी पुनः सशक्त रूपमा अघि बढिरहेको संकेत देखिएको छ। क्रान्तिकारी शक्तिहरूको ध्रुवीकरणले आगामी दिनहरूमा राजनीतिक समीकरणलाई नयाँ मोड दिन सक्ने आँकलन गरिएको छ।
प्रतिक्रिया