काठमाडाैं- खुकुरी नेपाली पहिचानको प्रतीक हो, र भोजपुरे खुकुरी त्यस पहिचानको गौरव। भोजपुर सदियौँदेखि खुकुरी व्यवसायको केन्द्र रहँदै आएको छ। यहाँ निर्मित खुकुरी नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा समेत अत्यधिक चर्चित छ। तर, समयको प्रवाहसँगै यो ऐतिहासिक धरोहर संकटमा पर्दै गएको छ। दक्ष कालिगडको अभाव, कच्चापदार्थको कमी र नयाँ पुस्ताको विदेश पलायनले भोजपुरे खुकुरी उत्पादनमा गिरावट आएको छ।
रोजगारी र उच्च शिक्षाको खोजीमा युवा विदेशिने क्रम बढ्दो छ। एकातिर खुकुरी बनाउने सीपमा पोख्त कालिगडहरू अवकाश प्राप्त गर्दै गएका छन्, अर्कोतिर नयाँ पुस्ता यो पेशाप्रति आकर्षित देखिँदैन। आरन व्यवसायमा तीन दशक बिताएका घनश्याम विश्वकर्मा भन्छन्, “सीप सिक्नुपर्ने युवा विदेशिएकाले आरन उद्योग संकटमा परेको छ। कच्चापदार्थ जुटाउनसमेत गाह्रो भएपछि दिनानुदिन उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन्।”
जिल्ला सदरमुकामका साथै कोट, दलगाउँ, गोगने, खावा, खैराङ, टक्सार, बोखिम, दाँवा, तिम्मा, दिङ्ला, देउराली, जरायोटारलगायतका क्षेत्रमा भोजपुरे खुकुरी उत्पादन हुने गर्छ। तर, वन पैदावारको अभाव, कोइला र सल्लाको काठ नपाइने समस्याले यी क्षेत्रका उद्योगहरू खस्कँदै गएका छन्। खुकुरी उद्योग सञ्चालन गरिरहेका दिनेश गजमेर भन्छन्, “अहिले दक्ष कालिगड भेट्न मुस्किल छ। काठ अभावले झन् समस्या बढेको छ। उत्पादन घट्दा माग धान्नै मुस्किल छ। महँगो ज्याला दिएर कालिगड राख्नुपर्ने बाध्यता छ।”
समय र सन्दर्भअनुसार भोजपुरे खुकुरीको उपयोग पनि फराकिलो बनेको छ। युद्धका मैदानदेखि किचनका उपकरणसम्म, कर्मचारीको स्वागतदेखि बिदाइसम्म, भोजपुरे खुकुरीको प्रयोग अनगिन्ती रूपमा हुने गर्छ। उर्मिला आरन उद्योगका सञ्चालक हिरा श्रेष्ठका अनुसार भोजपुरमा सिरुपाते, बासँपाते, चित्लाङे, कोथिमुडा, पानवाला, धारखोले, बुदुने जस्ता खुकुरीहरू निर्माण गरिन्छन्। “१९६५ सालदेखि भोजपुरमा खुकुरी उत्पादन हुने तथ्य इतिहासमै उल्लेख छ। विसं २०२७ मा तत्कालीन राजा महेन्द्र भोजपुर भ्रमणमा आउँदा स्थानीय सिंगबहादुर विकले खुकुरी उपहार दिएका थिए। त्यसपछि भोजपुरे खुकुरी झन् लोकप्रिय बन्दै गयो,” श्रेष्ठ बताउँछन्।
हाल स्थानीय बजारमा खुकुरीको मूल्य रु ८०० देखि रु १,८०० सम्म रहेको छ। ग्रामीण क्षेत्रमा बुदुने र बाँसपाते खुकुरीको प्रयोग सर्वाधिक छ। भोजपुरे खुकुरीको माग धरान, उदयपुर, खाँदबारी, काठमाडौँ हुँदै अन्तर्राष्ट्रिय बजारसम्म फैलिएको छ। चिनो, उपहार र सजावटका रूपमा विदेश निर्यात गरिने यी खुकुरीले नेपाली मौलिकताका गाथा बोक्छन्।
तर, संरक्षण अभावले यो ऐतिहासिक व्यवसाय संकटमा परेको छ। व्यवसायीहरू सरकारी तहबाट पहल गरिनुपर्ने माग राख्दै आएका छन्। नत्र भने, भोजपुरे खुकुरीको महिमा केवल कथाहरूमा मात्र सीमित हुने खतरा रहन्छ। समयमै उचित कदम चालिएन भने सदियौँदेखिको यो गौरवशाली परम्परा इतिहासको गर्भमा विलीन हुनेछ।
प्रतिक्रिया