फाेटाे : रासस
काठमाडाैं- भक्तपुरको ऐतिहासिक गल्लीमा बुधबार एक अनौठो दृश्य देखियो। नेपाल भ्रमणमा रहेका बेलायतका अधिराजकुमार एडवार्ड हातमा हथौडा र ज्यावल बोकेर काष्ठकलामा बुट्टा खोप्दै थिए, नेपाली नेताहरू भने फेरि पनि उही भाषणको बुट्टै बुट्टा भर्दै थिए।
नेपाल भोकेसनल एकेडेमीको आँगनमा जब अधिराजकुमारले कलात्मक काष्ठकला निर्माण गर्ने सीप सिक्दै हातैमा राप्लो पारेर मेहनत देखाए, त्यही बेला कतै कुनै नेपाली नेता भने फेरि पनि ‘पर्यटन प्रवर्द्धन गर्नुपर्छ, सम्पदा जोगाउनुपर्छ’ भन्ने सदाबहार आश्वासन बाँड्दै थिए। ऐतिहासिक सम्पदासँगै सेल्फी खिचेर सामाजिक सञ्जालमा 'नेपालको संस्कृति विश्वमै अनुपम छ’ भन्ने प्रवचन छर्न व्यस्त थुप्रै नेपाली अनुहारहरूसँगै अधिराजकुमारको यो फरक सक्रियता अचम्मकै लाग्यो।
ती अधिराजकुमारलाई न कुनै मञ्च चाहियो, न त कसैलाई गम्छा ओढाइदिएर सम्मान गर्नुपर्ने आवश्यकता। उनको रुचि देखेर भक्तपुरका कालिगडहरूले उनलाई हातमा हथौडा समाएर काम सिकाए। उता, नेपाली नेताहरू भने कहिले हस्ताक्षर गर्दै, कहिले नारामै रमाउँदै, अनि कहिले आ-आफ्नै राजनीतिक बुट्टा भर्दै दिन बिताइरहेका छन्।
ती बेलायती पाहुनाले भक्तपुरको तीन घण्टे भ्रमणमा ऐतिहासिक धरोहरको अध्ययन गरे, काष्ठकलाको गहिराइमा गएर अनुभव सँगाले, तर यता हाम्रो सरकारका मन्त्रीहरू वर्षौंदेखि ‘संस्कृतिको संरक्षण गरिन्छ’ भन्ने हावादारी घोषणाबाट बाहिर निस्कन सकेका छैनन्।
बेलायती राजपरिवारका सदस्यहरू कुनै भीआईपी सुरक्षा तामझामबिना भक्तपुरका गल्लीमा विचरण गर्दै ऐतिहासिक सम्पदाको मर्म बुझिरहेका थिए, नेपाली नेताहरू भने सडक बत्तीसमेत निभाएर आफ्नै सुरक्षाको बन्दोबस्त मिलाउँदै हिँड्छन्। अधिराजकुमार एडवार्डले आफ्नो ‘हात’ चलाए, तर हाम्रा नेताहरूको हात भने केवल भाषणको पानाहरू पल्टाउनमै सीमित रह्यो।
नेपाली नेताहरूको भाषणभन्दा बेलायती पाहुनाको मौन कर्म धेरै प्रभावकारी लाग्यो। तस्बिरका लागि मात्रै मुस्कान छर्ने होइन, कामका लागि पनि हात चलाउने हो भन्ने सन्देश अधिराजकुमार एडवार्डले दिन खोजेझैँ लाग्यो। अब यो दृश्य देखेर हाम्रो नेतृत्वले केही सिक्लान् कि अझै पनि वाचा र घोषणाका सुन्दर बुट्टै बुट्टा भर्दै बस्ने हो?
प्रतिक्रिया