काठमाडौं- कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) को ३० औं संस्करणको सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी आजबाट सुरु भएको छ ।
आज माघ २४ गते राष्ट्रिय सभा गृहमा कार्यक्रम आयोजना गरी प्रदर्शनीको बारेमा जानकारी दिदैं क्यान महासंघले ‘क्यान इन्फोटेक–२०२५’ को भृकुटीमण्डपमा उद्घाटन गरेको हो ।
इन्फोटेकको उद्घाटन क्यान महासंघका अध्यक्ष सुनैना पाण्डे घिमिरे र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सहअध्यक्ष डा. दिलिप सुब्बाले रिबन काटेर गरेका हुन् ।
क्यान इन्फोटेक आइटीको कुम्भ मेला भएको बताउँदै महासंघका अध्यक्ष सुनैना पाण्डे घिमिरेले भनिन् , व्यवसायी तथा विद्यार्थीले आफूसँग भएका प्रविधिहरुको प्रदर्शन गर्ने र अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका उपयोगी उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन्।’
साथै प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने,नयाँ उत्पादन सार्वजनिक गर्ने र ग्राहकसँग सम्बन्ध स्थापना गर्ने अवसर पनि हुने अध्यक्ष घिमिरेको भनाई छ ।
माघ २८ गतेसम्म चल्ने प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहेको छ । यसका साथै विभिन्न कलेजका विद्यार्थीले बनाएका प्रोेजेक्ट तथा सफ्टवयेरहरु पनि प्रदर्शनका लागि राखिएका छन् ।
प्रदर्शनीमा सर्वसाधारणहरु १०० र विद्यार्थीहरु ५० रुँपैया शल्क तिरेर प्रवेश गर्न पाउँछन् भने ज्येष्ठ नागरिक तथा कुनैपनि विद्यालयको तर्फबाट आउने विद्यार्थीहरु भने निशुल्क प्रवेश गर्न पाउँनेछन् ।
प्रतिक्रिया