फाेटाे : रासस
काठमाडाैं- लमजुङकाे बेँसीसहर नगरपालिका-८, फुलबारी चोकस्थित जिल्ला मालपोत कार्यालयमा प्रमुख नहुँदा न कर्मचारीले तलब पाएका छन्, न सेवाग्राहीले सेवा! दुई महिनादेखि तलबको मुख हेर्न नपाएका कर्मचारी र कामै नपाएर हात बाँधेर बस्न बाध्य सेवाग्राही- यो कुनै सरकारी लापरबाहीको सामान्य कथा होइन, प्रशासनिक अव्यवस्थाको ज्वलन्त उदाहरण हो।
गत मंसिरमा प्रमुखका रूपमा भीष्मकुमार मल्ल आइपुगेका थिए, तर पुस १४ गते सरुवा भइहाले। त्यसपछि कास्कीबाट रामचन्द्र अधिकारीलाई प्रमुख तोकिएको खबर त आएको थियो, तर उनि अहिलेसम्म देखिएनन् । प्रमुख बिना कार्यालय चलाउने जिम्मेवारी पाएका निमित्त प्रमुख पूर्णबहादुर गुरूङ सेवाग्राहीको गुनासो सुन्ने काममा सीमित छन्। तलब पठाउने, नामसारी गर्ने, घरजग्गा कारोबार तथा अन्य आर्थिक काम गर्नुपर्ने तर कार्यालय प्रमुख नभएको कारण सबै प्रक्रिया रोकिएको छ।
कार्यालय प्रमुखविहीन भएपछि कर्मचारीको तलब रोकिएको मात्रै होइन, सेवाग्राहीले निकै सास्ती खेप्नु परेको छ। कार्यालयमा २६ जना दरबन्दी भए पनि हाल ८ जना मात्र कर्मचारी कार्यरत छन्। कामको चाप झेल्नुपर्ने, प्रमुख नभएकाले निर्णय गर्न नसकिने, सेवाग्राही झर्किनुपर्ने- यस्तो अन्योलपूर्ण अवस्था कहिलेसम्म रहन्छ?
पछिल्लो एक वर्षमा चार जना प्रमुख फेरिसके। चिरिञ्जीवी पौडेल एक महिनामै सरुवा भए, हरेन्द्रकुमार श्रेष्ठ असार महिनामा बिदा भए, भीष्मकुमार मल्ल पुसमा स्थानान्तरण भए, अब रामचन्द्र अधिकारी आइहाल्छन् कि अर्काे प्रमुख आउने पालो कुर्नुपर्ने हो? कार्यालय प्रमुखका रूपमा तोकिएकाहरू आएर कुर्सीमा बस्नै नचाहने अवस्था किन सिर्जना भएको होला?
कार्यालय प्रमुखको अनुपस्थितिले कर्मचारीको तलब नआउनु, सेवाग्राहीको काम नहुनु त स्वाभाविक भइसक्यो, तर सम्बन्धित निकायको ध्यान किन गएको छैन? कार्यालय प्रमुख नै नभई कार्यालय सञ्चालन हुन सक्छ भन्ने नयाँ नियम लागू भएको हो कि?
प्रतिक्रिया