काठमाडाैं- देशको निकास र विकासका ठूला कार्यक्रमहरूमा उपस्थित भएर राष्ट्रिय मुद्दाहरूमा छलफल गर्नुको साटो, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली अहिले टिकटकरहरू अंशु वर्मा र मिस पविका संगतमा व्यस्त छन्। बिहीबार, आन्तरिक कामका बीचमा उनले साँझ टिकटकरहरूलाई भेटेर टिकटटकलाई अघिल्लो सरकारले जसरी बन्द नगर्ने र व्यवस्थित सञ्चालन गर्न सुझाव दिएको कुरा सामाजिक सञ्जालमा जानकारी गराएका छन्।
प्रधानमन्त्रीले फेसबुकमा लेखेर भने, “बिहीबार दिउँसो आन्तरिक काममा व्यस्त थिएँ, र साँझ टिकटकरहरूसँग कुराकानी भयो।” यसै बीच, अघिल्लो सरकारले २०८० कात्तिक २७ गते टिकटटकलाई प्रतिबन्ध लगाएको अवस्थालाई सम्झँदै, वर्तमान सरकारले भदौ ६ गतेको मन्त्रिपरिषद्को निर्णयमार्फत नियम अनुसार प्रतिबन्ध फुकुवा गरेको छ।
तर जब देशका गम्भीर विकासका कार्यक्रमहरूमा नेताहरू प्रचण्ड र शेरबहादुर देउवा जस्ता नेताहरू गम्भीर छलफलमा जुटेका बेला, प्रधानमन्त्री ओली टिकटकरहरूलाई भेट्नमा व्यस्त हुनुले प्रश्न उठाएको छ- के राष्ट्रिय विकासका ठूला मुद्दाहरूलाई पछाडि सारेर, डिजिटल मनोरञ्जनको मायामा सरकारको ध्यान केन्द्रित भएको हो?
विपक्षी नेताहरूको खोजीमा रहे पनि संसद्मा अनुपस्थित रहनु, र राष्ट्रिय हितका ठूला कार्यक्रमहरू छोडेर टिकटकरहरूको सुझावमा मुख फर्काउनु, जनमानसमा हास्य र गम्भीर आलोचनाको विषय बनेको छ।
यस अवस्थामा, टिकटकरहरूका सुझावलाई ‘नयाँ विकास नीतिको सूत्र’ बनाउने हो कि केवल डिजिटल मनोरञ्जनको हल्का ठट्टा? जनता र विश्लेषकहरूका मनमा यही प्रश्न उठिरहेको छ- विकासका लागि सोच-विचार र योजना बनाउनु परिरहेका बेला टिकटकरहरूलाई भेट्ने प्राथमिकता दिएर देशको भविष्य उज्यालो बन्ने विश्वास कसरी गर्ने?
प्रतिक्रिया