राष्ट्रिय बीमा कम्पनीको ताकेता: दाबी भुक्तानी लिन ३५ दिनको अन्तिम समयसीमा

शुक्रबार, २५ माघ २०८१, ०८ : ५१

काठमाडौं- राष्ट्रिय बीमा कम्पनीले बीमितहरूलाई बाँकी रहेको दाबी भुक्तानी लिन अन्तिम चेतावनी दिएको छ। कम्पनीले आज जारी गरेको सूचनामा, विगतका वर्षहरूदेखि दाबी गरिए पनि आवश्यक कागजात नबुझाएका बीमितहरूलाई ३५ दिनभित्र प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।

सूचनामा उल्लेख गरिएअनुसार, आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्मका बीमालेखअन्तर्गत दाबी भुक्तानीका लागि जानकारी गराइए पनि बीमितहरूले आवश्यक कागजात बुझाएका छैनन्। कम्पनीले बारम्बार ताकेता गर्दासमेत कागजपत्र नआएको जनाउँदै, अब तोकिएको ३५ दिनभित्र प्रक्रिया पूरा नगरे फाइल नै बन्द गरिने स्पष्ट पारेको छ।

बीमितहरूले आवश्यक कागजातहरू कम्पनीको प्रधान कार्यालय वा नजिकको शाखामा बुझाई दाबी भुक्तानी प्रक्रिया छिटो सम्पन्न गर्न सक्नेछन्। साथै, बाँकी दाबी भुक्तानी सम्बन्धी विवरण कम्पनीको वेबसाइटमा हेर्न सकिने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।

बीमा रकम लिन बाँकी रहेका बीमितहरूले तोकिएको समयसीमाभित्र प्रक्रिया पूरा नगरेमा भुक्तानी प्रक्रिया स्वतः बन्द हुने भएकाले तत्काल आवश्यक कागजात बुझाउन राष्ट्रिय बीमा कम्पनीको आग्रह छ।

शुक्रबार, २५ माघ २०८१, ०८ : ५१

प्रतिक्रिया