फाेटाे : रासस
काठमाडाैं- नेपालका लागि कम्बोडियाका गैरआवासीय राजदूत धनबहादुर ओलीले कम्बोडियाका नरेश नरोदम सिहामोनीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बिहीबार एक विशेष समारोहका बीच प्रस्तुत गरेका छन्। कम्बोडियाको राजधानी न्होमपेनस्थित राजदरबारमा आयोजित सो भव्य कार्यक्रममा राजदूत ओलीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट कम्बोडियाली सम्राटको व्यक्तिगत सुख, सुस्वास्थ्य र समृद्धिको कामना व्यक्त गरे।
प्रमाणपत्र प्रस्तुतिपछि नरेश सिहामोनीसँग भएको विशेष भेटमा राजदूत ओलीले नेपाल र कम्बोडियाबीचको ऐतिहासिक सम्बन्ध झनै प्रगाढ बनाउने प्रतिबद्धता जनाए। सो अवसरमा कम्बोडियाली नरेशले नेपालका राष्ट्रपतिप्रति सम्मान व्यक्त गर्दै नेपाली जनताको शान्ति, समृद्धि र निरन्तर उन्नतिको शुभकामना दिएका थिए।
समारोहलाई थप गरिमामय बनाउन कम्बोडियाका उपप्रधानमन्त्रीसहित राजदरबारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा नरेश सिहामोनीले नेपाल-कम्बोडियाबीचको आपसी सहकार्य र सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
राजदूत ओलीको कार्यकाललाई प्रभावकारी बनाउँदै नेपाल र कम्बोडियाबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। नेपाल र कम्बोडियाबीचको कूटनीतिक सम्बन्ध सुदृढ पार्दै आगामी दिनहरूमा विभिन्न क्षेत्रहरूमा सहकार्य विस्तार गरिने विश्वास गरिएको छ।
प्रतिक्रिया