सुन्तलाले चम्किएको बाँसखर्क : चार दशकअघिको सपना करोडौंको आम्दानीमा परिणत

शुक्रबार, २५ माघ २०८१, ०९ : ३२

काठमाडाैं- बेनीको छेउमै रहेको पर्वतको बाँसखर्कमा जब जगतबहादुर खत्रीले चार दशकअघि सुन्तला खेती सुरु गरे, तब छिमेकीहरू अचम्ममा परे। परिवारका सदस्यहरूले भोकै बस्नुपर्ने डर व्यक्त गरे। "सुन्तला मात्रै लगाएपछि अन्न खान पाइँदैन भनेर गाली पनि खाएँ, डर पनि लाग्यो," खत्री सम्झिन्छन्, "तर अहिले यही सुन्तलाले मेरो परिवारलाई आत्मनिर्भर मात्र होइन, सम्पन्न पनि बनाएको छ।"

खत्रीको ३६ रोपनी क्षेत्रफलमा फैलिएको बगैँचामा १,५९३ बोट सुन्तला लहलहाउँछन्। यस वर्ष मात्रै उनले ४० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरिसकेका छन् भने सबै बगैँचाको उपज गन्ने हो भने यो संख्या ४५ लाख नाघ्नेछ। उनका अनुसार सबै बोटमा फल लागेमा वार्षिक आम्दानी १ करोड रुपैयाँभन्दा माथि पुग्नेछ। सुन्तलाको आकर्षण यति बढेको छ कि व्यापारीहरू प्रतिकिलो १२० रुपैयाँका दरले काठमाडौँबाटै खरिद गर्न आउँछन्।

वि.सं. १९९७ मा खत्रीका हजुरबाले पाँच वटा सुन्तलाका बिरुवा रोपेका थिए। त्यतिबेला सुन्तलाको स्वाद लोभलाग्दो भएकाले छिमेकीहरू माग्न आउने गर्थे। बाबु मीनबहादुर खत्रीले वि.सं. २०३३ मा थप २५ वटा बिरुवा रोप्दै सुन्तलाको खेती विस्तार गरे। पाँच वर्षमै राम्रो उत्पादन दिएपछि सुन्तलाले गाउँमै बजार पायो। सजिलै बिक्री भएपछि नगद आम्दानी सुरु भयो र परिवारले गाउँमै बसेर घरव्यवहार चलाउन थाले।

समयसँगै बाँसखर्कका खेतबारी सुन्तलाले ढाक्न थाले। अहिले खत्री परिवारको घर र आँगनबाहेक सबै जमिन सुन्तलाको बगैँचामा परिणत भएको छ। सेवानिवृत्त शिक्षक खत्रीले शिक्षण पेशामा रहँदा नै सुन्तलामा लगानी गरेका थिए, र अहिले निवृत्त जीवन पनि उनले यही खेतीमा समर्पित गरेका छन्। उनका चार छोरीहरू विवाह भएर आफ्नै घर गइसकेका छन् भने स्नातक तह पढेका छोरा राजन, बुहारीसहित पूरै परिवार सुन्तला खेतीमै तल्लीन छन्।

बाँसखर्कमा सुन्तलाले आर्थिक क्रान्ति ल्याएको छ। खत्री मात्र होइनन्, उनका छिमेकीहरू पनि सुन्तला खेतीबाट लाखौँ आम्दानी गरिरहेका छन्। २० रोपनीमा ९५० बोट लगाएका शान्तबहादुर छिन्तेलले २३ लाख रुपैयाँको सुन्तला बेचेका छन् भने ८०० बोट लगाएका हेमकुमार अर्मजाले ३० लाख रुपैयाँ आम्दानी गरेका छन्।

समुन्द्र सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटर उचाइमा रहेको बाँसखर्कका दुई सय ३९ मध्य दुई सय परिवारले सुन्तला खेती गरेका छन्। एउटा परिवारले वार्षिक कम्तीमा पाँच लाख रुपैयाँको सुन्तला बिक्री गर्छ। बाँसखर्कका १,५०० रोपनी जग्गामा फैलिएको सुन्तला बगैँचामा यस वर्ष मात्रै १८ करोड ४४ लाख रुपैयाँ बराबरको उत्पादन भएको छ।

बाँसखर्कमा अहिले ५१,१५१ वटा सुन्तलाका बोट छन्। तीमध्ये २४,४४५ बोट अझै उत्पादन दिन बाँकी छ। देशका अन्य ठाउँमा सुन्तलाको मौसम सकिएपछि पोखरा, काठमाडौँ, चितवनलगायतका व्यापारीहरू बाँसखर्क आउँछन्। बेनीदेखि बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडकको स्तरोन्नति, सिँचाइको सुविधा र वैज्ञानिक प्रविधि भित्र्याउन सके बाँसखर्कको सुन्तला अन्तर्राष्ट्रिय बजारमा चिनाउन सकिने स्थानीय कृषकहरूको विश्वास छ।

"विदेश जानु नपर्ने, सहर झर्नु नपर्ने, गाउँमै बसेर करोडौं कमाउन सकिने रहेछ," खत्री परिवारका छोरा राजन भन्छन्। वडा अध्यक्ष जगबहादुर रोकाका अनुसार सही योजना, आधुनिक कृषि प्रणाली र पूर्वाधार विकास भएमा बाँसखर्क नेपालकै प्रमुख सुन्तला उत्पादन केन्द्र बन्न सक्छ।

सुन्तलाको मिठासले बाँसखर्कलाई आर्थिक उन्नतिको उज्यालो यात्रामा अघि बढाइरहेको छ। अब बाँसखर्क केवल हिमालपारिको गाउँ मात्र होइन, करोडौंको सुन्तला उत्पादन गर्ने स्वर्णभूमि बनेको छ।

शुक्रबार, २५ माघ २०८१, ०९ : ३२

प्रतिक्रिया