हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि कूटनीतिक पहल तीव्र

शुक्रबार, २५ माघ २०८१, ११ : ५२

काठमाडौं - हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयासलाई अझै सशक्त बनाएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोनवार्ता गर्दै जोशीको शीघ्र रिहाइका लागि पहल गर्न आग्रह गरेकी छिन्।

गत राति भएको वार्तामा परराष्ट्रमन्त्री देउवाले इरान सरकारलाई जोशीको मुक्तिका लागि आवश्यक पहल गर्न विशेष आग्रह गरेकी हुन्। जवाफमा इरानी विदेशमन्त्री अराघ्चीले आगामी हमास अधिकारीहरुसँगको बैठकमा जोशीको रिहाइको विषयलाई प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

इजरायल सरकार र हमासबीच युद्धविराम भएलगत्तै हमासले आफ्ना नियन्त्रणमा रहेका बन्दीहरूलाई क्रमशः मुक्त गर्न थालेको छ। यसै सन्दर्भमा नेपाल सरकारले जोशीको शीघ्र रिहाइका लागि विभिन्न राष्ट्रहरूसँग निरन्तर संवाद गरिरहेको छ।

यसअघि पनि परराष्ट्रमन्त्री देउवाले इजिप्टका विदेशमन्त्रीसँग टेलिफोनवार्ता गरी जोशीको मुक्तिका लागि सहयोग गर्न आग्रह गरेकी थिइन्। साथै, हमाससँगको शान्तिवार्तामा मध्यस्थता गरिरहेका कतार र इजिप्ट सरकारलाई पनि विशेष पहल गरिदिन नेपाल सरकारले लगातार अनुरोध गरिरहेको छ।

जोशीको रिहाइका लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा समेत सक्रिय भूमिका निर्वाह गरिरहेको छ। परराष्ट्रमन्त्री देउवाले संयुक्त राष्ट्रसंघ तथा क्षेत्रीय फोरमहरूमार्फत यो विषयलाई प्राथमिकताका साथ उठाउँदै आएकी छिन्।

इजरायलका लागि नेपाली राजदूत प्रा. डा. धनप्रसाद पण्डितले समेत केही दिनअघि इजरायलका राष्ट्रपतिसँग टेलिफोनवार्ता गर्दै जोशीको शीघ्र मुक्तिका लागि अपिल गरेकी थिइन्।

जोशीको शीघ्र रिहाइका लागि नेपाल सरकारको उच्चस्तरीय कूटनीतिक प्रयासले सफलता प्राप्त गर्ने विश्वास गरिएकाे छ।

शुक्रबार, २५ माघ २०८१, ११ : ५२

प्रतिक्रिया