रोमाञ्चक खेलमा एपीएफलाई हराउँदै पुलिस फाइनलमा

४ बर्ष अगाडि

काठमाडौँ – विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । 
     
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा पुलिसले एपिएफलाई पाँच विकेटले पराजित गर्दै फाइलनमा पुगेको हो । यही जेठ २५ गते हुने फाइनल खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्नेछ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले प्रदेश नं. ३ लाई पराजित गर्दै फाइनलमा पुगेको थियो । 
    
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले पुलिसलाई ४२ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा पुलिसले ९ दशमलव ३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । पुलिसको जितमा पवन सर्राफले अविजित २१ रन जोड्दा दीपेन्द्र सिंह ऐरीले १३ रन बनाए । बलिङतर्फ एपिएफका कप्तान वसन्त रेग्मी व्यक्तिगत ३ विकेट लिए भने शरद भेषवाकरले २ विकेट झारे ।
    
त्यसअघि पहिले व्याटिङ गरेको एपिएफले २२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ४१ रन मात्र बनायो । एपिएफका कुनै पनि खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । शरद भेषवाकरले ७ रन जोड्दा पृथु बास्कोटाले पनि समान ७ रन नै जोडे । यसैगरी अमर सिंह रौटेलाले ६ तथा सन्दीप जोराले ५ रन बनाए ।
    
एपिएफलाई ४१ रनमा समेट्नेक्रममा पुलिसका ललित नारायण राजवंशीले व्यक्तिगत ४ विकेट लिँदा कुशल भुर्तेल र सागर ढकालले समान ३÷३ विकेट झारे । शनिबार हुने फाइनल भिडन्तका विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया