क्यान इन्फोटेक २०२५ : प्रविधिप्रेमीहरूको आकर्षण, अफर र छुटको वर्षा

शनिबार, २६ माघ २०८१, ०९ : ५३

काठमाडौं- नेपालका प्रविधिप्रेमीहरूको प्रतिक्षा सकिएको छ! सूचना तथा प्रविधिको उत्कृष्ट संगम ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा भव्य रूपमा सुरु भएको छ। नविनतम प्रविधि, अत्याधुनिक ग्याजेट, स्टार्टअप नवप्रवर्तन र आर्कषक छुटसहितको यस प्रदर्शनीले प्रविधिप्रेमीहरूलाई मोहनी लगाइरहेको छ।

क्यान इन्फोटेकलाई लक्षित गर्दै विभिन्न प्रविधि कम्पनीहरूले उपभोक्ताका लागि लोभलाग्दा अफरहरू सार्वजनिक गरेका छन्। शीर्ष प्रायोजक एचएमसी हिक्सेमीले वायरलेस क्यामेरामा २० प्रतिशत, हरेक उत्पादनमा १५ प्रतिशत, मोनिटरमा २० प्रतिशत र यूपीएसमा १० प्रतिशत छुटको घोषणा गरेको छ। सह-शीर्ष प्रायोजक मर्कन्टाइल कम्युनिकेसन्सले एसर ब्रान्डका अत्याधुनिक ल्यापटप तथा डेस्कटपसहित इप्सन ब्रान्डका प्रिन्टर र प्रोजेक्टर विशेष अफरसहित सार्वजनिक गरेको छ। गोल्ड स्पोन्सर नेबुला मोबिलिटी प्रा.लि.ले ब्याट्री फेर्न सकिने नवप्रवर्तित गोगोरो स्कुटरमा विशेष अफर ल्याएको छ, जसअन्तर्गत ग्राहकले काठमाडौं सहरभित्र १००० किलोमिटर निःशुल्क यात्रा गर्न पाउने छन्।

इन्फोटेकमा इन्टरनेट पार्टनर वर्ल्डलिङ्कले आफ्ना ग्राहकलाई ‘बोट एयरड्रप्स १८१ प्रो’ र ‘बोट स्टोन ३५२ मार्बल सिरिज’ मा ५० प्रतिशतसम्म छुट प्रदान गरेको छ। राइड हेलिङ प्लेटफर्म टुटलले प्रदर्शनी अवलोकनकर्तालाई बाइक तथा क्याब दुवैमा ६० प्रतिशत छुट दिइरहेको छ। एस पावर बीपीई प्राइभेट लिमिटेडले शिक्षासम्बन्धी अत्याधुनिक प्रविधिहरू – स्मार्ट बोर्ड, यूपीएस, अटोमेटिक भोल्टेज रेगुलेटर, वाटरपम्प आदि ४० प्रतिशतसम्म छुटमा उपलब्ध गराएको छ। विभिन्न ब्रान्डका विश्वस्तरीय नेटवर्किङ प्रडक्ट, वायरलेस क्यामेरा, स्मार्ट बोर्ड, तथा अन्य सेक्युरिटी प्रडक्टहरू विशेष अफरसहित प्रदर्शनीमा राखिएका छन्।

यसपटकको क्यान इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनीहरूले आफ्ना नवीनतम उत्पादनहरू सार्वजनिक गर्दै ३० प्रतिशतसम्म छुटको घोषणा गरेका छन्। ‘कता हो’ नामक डिजिटल ठेगाना प्लेट प्रणाली विशेष चासोको केन्द्र बनेको छ, जसले केही मिनेटमै प्रयोगकर्ताको ठेगाना प्लेट तयार पार्न सक्षम बनाउँछ। नेपालमै निर्मित ‘मुनाल स्याटलाइट’ तथा ‘नेपाल स्याट’ को प्रोटोटाइपले अवलोकनकर्तालाई आकर्षित गरिरहेको छ। रोबोटिक्स एसोसिएसन अफ नेपाल (RAN) ले रोबोटिक्स कम्पिटिसन सञ्चालन गरिरहेको छ, जसले प्रविधिमा रुचि राख्ने विद्यार्थीहरूलाई झनै उत्साहित बनाएको छ।

यसपटकको क्यान इन्फोटेकमा एआई प्रविधिमा आधारित ग्याजेटहरू, ह्युमनाइड रोबोट, सेल्फ-ड्राइभिङ कार जस्ता प्रविधिहरू प्रदर्शित गरिएका छन्। साइबर सुरक्षा सहायता डेस्क, डेटा साइन्स, सेन्सर टेक्नोलोजी, तथा आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी विद्यार्थीहरूले तयार पारेका प्रोजेक्टहरू प्रदर्शनीमा राखिएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) ले तयार पारेको प्रविधिमैत्री स्मार्ट बस प्रदर्शनीमा थप आकर्षणको केन्द्र बनेको छ। आईटी तथा इन्जिनियरिङ विद्यार्थीहरूलाई लक्षित गर्दै यस बसभित्र एआई कोडिङ क्याम्प सञ्चालन गरिएको छ।

१५५ भन्दा बढी स्टल रहेको क्यान इन्फोटेक २०२५ मा प्रविधिप्रेमीहरूको उत्साह उच्च रहेको छ। अवलोकनकर्ताहरूले विशेष छुटको फाइदा उठाउन र नयाँ प्रविधिहरू अनुभव गर्न मेलास्थलमा भिड जमाइरहेका छन्। विशेषगरी गेमिङ पीसी, ल्यापटप तथा अन्य कम्प्युटर एक्सेसरिजमा निःशुल्क सर्भिसिङ अफरले उपभोक्ताहरूलाई लोभ्याएको छ। आईटी तालिम प्रदायकहरूले पनि प्रत्येक आईटी कोर्समा छुटको घोषणा गर्दै अवलोकनकर्ताहरूलाई आ惋ण गरिरहेका छन्।

क्यान महासचिव चन्द्र विलास भुर्तेलका अनुसार, यो वर्षको क्यान इन्फोटेक नवप्रवर्तन (इन्योभेसन) र स्टार्टअप प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ। शुक्रवार कलेजका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने, नीति निर्माता, कलाकार तथा जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। शनिबार अझ बढी अवलोकनकर्ता आउने अनुमान गरिएको छ। प्रदर्शनी सोमबारसम्म चल्नेछ।

शनिबार, २६ माघ २०८१, ०९ : ५३

प्रतिक्रिया