काठमाडौं– नेपाल कम्प्युटर एसोसियसन नेपाल (क्यान महासंघ) द्वारा भृकुटीमण्डपमा आयोजित ‘क्यान इन्फोटेक २०२५’ को शनिबार तेस्रो दिन हो । माघ २८ सम्म चल्ने इन्फोटेकमा तेस्रो दिन क्यान महासंघका पदाधिकारीसहित दर्शकहरुको भव्य उपस्थिति रहेको थियो ।
सार्वजानिक बिदाको दिन भएकाले पनि शनिबार धेरै अवलोकनकर्ता आएको हुनसक्ने क्यान महासंघका पदाधिकारीहरुको भनाई रहेको छ । इन्फोटेकमा विभिन्न प्रविधिमा आधारित उपकरण, कम्प्युटर, रोबोटिक्सलगायतका स्टलहरु राखिएका छन् । जसमध्ये यस वर्षको विशेष रुपमा हेरिएको र नयाँ राखिएको स्टल भने एआई रिलेटेड स्टलहरु हुन् । क्यानका सचिव आग्मा मालाकरले यसपटक एआईलाई विशेष प्राथमिकतामा राखिएकोले अहिलेको इन्फोटेक नै विभिन्न व्यक्ति तथा विद्यालयका विद्यार्थीले बनाएको एआईलाई चिनाउँने माध्यम रहेको बताइन् ।
उनले भनिन्, ‘हामीले यसपटक विशेष प्राथमिकता आर्टिफिसियल इन्टिलिजेन्सलाई नै हो । अहिले उत्साहजनक रुपमा भिजिटरको पनि उपस्थिति देखिएको छ । अहिलेलाई मात्र नभएर सुचना प्रविधिमा भोलीको नेपाल कता जाने हो भन्ने पनि इन्फोटेकको माध्यमबाट बुझ्न सजिलो हुने देखिन्छ । तेस्रो दिनमा यतिको उपस्थिति देखिनु एकदम राम्रो हो भर्खरै त एआईको पहिलोपटक सुरुवात गरेका छौ अर्को वर्ष झनै धेरैमाझ पूग्ने विश्वास गरेका छौँ ।’
सुचना प्रविधिको युगमा विश्व अगाडि बढिरहेको बेलामा नेपाल पनि सुचना प्रविधिमा अगाडि आउनुपर्छ भनेर क्यान महासंघले एआईलाई विशेष प्राथमिकतामा राखेको हो । आधुनिक प्रविधिलाई चिनाउनका लागि राखिएका सफ्वटवयेरलगायत एआईसम्बन्धि प्रायः स्टलहरु विद्यार्थीलक्षित छन् । तर आशा गरेअनुरुपका विद्यार्थीहरूको उपस्थिति हुन नसकेको क्यान महासंघ नेपालका कार्यकारी सदस्य बन्दना शर्मा ज्ञवालीले बताईन्। यस्तो हुनुमा विद्यार्थीहरू विदेश जाने क्रम बढेकोले असर पारेको हुनसक्ने उनको भनाइ छ ।
‘ क्यानले जतिसक्दो विद्यार्थीहरूमा इन्फोटेकको जानकारी पुर्याउने र यसको माध्यमबाट विद्यार्थीहरुमा हौसला प्रदान गर्ने उद्देश्य राखेका थियौ । सोचेजस्तो विद्यार्थीहरुको उपस्थिति नभएपनि एआई भनेपछि धेरै मानिसहरू उत्साहित हुँदै इन्फोटेकमा आएकाछन् । वैदेशिक रोजगारमा तथा अध्ययनमा जाने क्रम पनि बढेको छ यसको असर परेको पनि हुन सक्छ । हामीले जति सक्दो विद्यार्थीहरू माझ पुर्याउने प्रयत्न त गरेका थियौं जतिले थाहा पाउनुभयो आउनु भएको छ र आउनुभएकोहरुबाट प्रतिक्रिया पनि राम्रो पाएका छौँ’ उनले भनिन् ।
क्यानले ३० औं संस्करणको यो इन्फोटेक छोटो समयमा गरेको भन्दै क्यानका पूर्वसचिव दिपेन्द्र सिंहले यतिको मानिसको उपस्थिति हुनु सकारात्मक भएको बताए । तेस्रो दिनमा अघिल्लो दिनहरुमा भन्दा बढी मानिसको उपस्थिति रहेकोले आज आउनेहरुले पाएको जानकारीको बारेमा आफ्नो नजिकका साथीहरुलाई मात्र सुनाए भने पनि मानिसको उपस्थिति हुने सम्भावना बढ्ने उनको भनाइ छ ।
क्यान महासंघका लेखासमिति सदस्य पुजा अग्रवालले क्यान इन्फोटेक २०२५ को बारेमा बोल्दै अवलोकन गर्न आउने विद्यार्थीहरुले सकारात्मक प्रतिक्रिया दिएको बताइन् । ‘विशेषगरी विद्र्यार्थीहरुले यो इन्फोटेकमा आएर धेरैकुरा सिक्ने अवसर पाएको जस्तो लाग्छ । यसले उनीहरुलाई पनि थप नयाँ केही गर्ने जोस बढ्ने र यसको प्रभावले सुचना प्रविधिको अर्को युग सुरु हुनमा मद्दत पुग्छ ।’ उनले भनिन् ।
सामाजिक सञ्जाल मार्फत् इन्फोटेकको बारेमा जानकारी पाएर स्टल भिजिट गरेका विद्यार्थीहरुले पनि धेरैकुरा सिक्ने अवसर पाएको बताए । बानेश्वर बहुमुखी क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत यसोदा ढकालले अनुभव सुनाउँदै भनिन्, ‘हामी जस्तै उमेरमा पनि सुचना प्रविधिसँग नजिक हुने विद्यार्थीले धेरै नयाँ काम गर्नु भएको रहेछ । हरेक विद्यालयमा यस्तो किसिमको प्रोजेक्ट वर्कलाई लगानशीलताका साथ गराउने हो भने आफ्नो आफ्नो पढाईको विषयअनुसारको नयाँ कामहरु बन्ने थिए ।’ उनीसँगै आएकी उनकी कक्षा १० मा अध्ययनरत बहिनीले एआईका स्टलहरुमा हेरेपछि आफूलाई पनि आइटी पढेर यस्तै प्रोजेक्टहरु बनाउन मन भएको बताईन् ।
क्यान महासंघले गरिरहेको यो इन्फोटेक सुचना प्रविधिको क्षेत्रमा उपलब्धिमुलक हुने क्यानका पदाधिकारीहरुले विश्वास लिएका छन् । एआईलाई दिइएको प्राथमिकताले यस विषयमा रुचि राख्नेहरुलाई भविष्य खोज्न सजिलो बनाइदिने देखिएको छ ।
प्रतिक्रिया