संघीय संसद्का दुवै सदनको बैठक आज

आइतबार, २७ माघ २०८१, ०७ : १०

काठमाडौं- संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभा बैठक सवा १ बजेका लागि तय गरिएको संसद् सचिवालयले जनाएको छ। आजको बैठकलाई महत्वपूर्ण बनाउने विभिन्न विधेयकहरू छलफलको केन्द्रमा रहनेछन्।

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले 'महालेखापरीक्षकको एकसट्टिऔं वार्षिक प्रतिवेदन, २०८१' पेस गर्नेछन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले 'आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१' फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

आजको बैठकमा बहुचर्चित 'नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालद्वारा दर्ता गराइएको विरोधको सूचना निर्णयार्थ पेस गरिनेछ।

गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, नेपाल प्रहरी विधेयक-२०८१’ तथा ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’लाई प्रस्तुत गर्न अनुमति माग्ने र विधेयकहरू संसद्मा पेस गर्नेछन्।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘विधायन विधेयक-२०८१’ पारित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन्। कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनका विभिन्न बुँदा तथा विधेयकका दफाहरू निर्णयार्थ प्रस्तुत गरिनेछन्।

राष्ट्रियसभामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले 'आर्थिक वर्ष २०८१–८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन' प्रस्तुत गर्नेछन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले 'सामाजिक सञ्जाल विधेयक-२०८१' प्रस्तुत गर्ने छन्। सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूको नियमनमा केन्द्रित यो विधेयकमा सांसदहरूको विशेष चासो रहने अपेक्षा गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन्। सङ्घीय संसद्को आजको बैठक विविध विधेयकहरू, नागरिकता विधेयकको विरोध, बजेट कार्यान्वयन मूल्याङ्कन, र डिजिटल मिडियाको नियमनजस्ता संवेदनशील मुद्दामा केन्द्रित रहनेछ। यी विषयहरू संसद्को बहसमा कसरी अघि बढ्छन् भन्ने कुराले आगामी नीति निर्माणलाई प्रत्यक्ष प्रभाव पार्नेछ।

आइतबार, २७ माघ २०८१, ०७ : १०

प्रतिक्रिया