केराको थम्बाबाट हस्तकला: तनहुँका महिलाको सिर्जनशील कदम

आइतबार, २७ माघ २०८१, ०७ : ३२

काठमाडाैं- जहाँकहीँ पाइने केरा प्रायः स्वाद र पोषणका लागि चिनिन्छ, तर यसको खेर जाने थम्बा (गाभा) चाहिँ प्रायः बेवास्तामा पर्दथ्यो। तर, तनहुँका महिलाहरूले त्यही केराको थम्बालाई सिर्जनशीलताको माध्यम बनाउँदै उपयोगी सामग्री उत्पादन सुरु गरेका छन्।

शुक्लागण्डकी नगरपालिकाका महिलाहरूले खेर जाने केराका थम्बाबाट आकर्षक हस्तकलाका सामग्री निर्माण गर्दैछन्। सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यका अनुसार, यो पहलले न केवल महिलाहरूको सीप विकासमा टेवा पुर्‍याउँछ, तर पुस्तान्तरणको माध्यमबाट पुरानो सीपलाई नयाँ पुस्तासम्म पु¥याउने सेतुको काम पनि गर्छ।

स्थानीयस्तरमा फालिने कच्चा पदार्थलाई उपयोगमा ल्याई सीपको सदुपयोग गर्न तालिम प्रदान गरिएको छ। प्रमुख आचार्य भन्छन्, "हामीले महिलाहरूलाई यस्तो सीप हस्तान्तरण गरिरहेका छौँ, जसले उनीहरूको आर्थिक सशक्तीकरणसँगै पर्यावरणमैत्री व्यवसायको ढोका खोल्छ।"

तालिमपछि महिलाहरूले केराको थम्बाबाट झोला, चकटी, ढकिया, रेशाका कपडा जस्ता विभिन्न सामग्री बनाउन थालेका छन्। प्रशिक्षक गोमा अम्गाईँका अनुसार, "गाउँघरमा सजिलै पाइने केराको थम्बाबाट विभिन्न हस्तकला सामग्री तयार गर्न सकिन्छ, जसले वातावरणमैत्री उद्यमको नयाँ आयाम खोल्छ।"

शुक्लागण्डकी नगरपालिकाका ११ जना महिलाले हस्तकलाको सीप सिकेर व्यवसायिक उत्पादनतर्फ पाइला चालिसकेका छन्। महिला उद्यमी सङ्घ शुक्लागण्डकी एकाइको आयोजनामा सम्पन्न तालिममा सहभागी महिलाहरू अत्यन्त उत्साहित छन्। अध्यक्ष तुलसी शाह भन्छिन्, "केवल फल खानमात्र प्रयोग हुने केराका थम्बाबाट विभिन्न उपयोगी सामग्री उत्पादन गर्न सिक्दा हामीले आत्मनिर्भर हुने नयाँ बाटो भेट्टाएका छौँ।"

तालिममा सहभागी महिलाहरूले सिकेको सीपलाई अब आर्थिक उपार्जनसँग जोड्दै व्यवसायिक रूपमा अघि बढाउने योजना बनाएका छन्। सामाजिक विकास कार्यालयको प्राविधिक सहयोगमा प्रदान गरिएको तालिमले महिलाहरूलाई न केवल आर्थिक रूपमा सबल बनाउने अपेक्षा गरिएको छ, तर परम्परागत ज्ञानलाई नवीन सोचसँग गासेर समाजलाई नयाँ प्रेरणा दिन पनि सफल भएको छ।

आइतबार, २७ माघ २०८१, ०७ : ३२

प्रतिक्रिया