समयको सम्मान: शक्ति माविका गुरुहरूलाई पूर्वविद्यार्थीको अभिनन्दन

आइतबार, २७ माघ २०८१, ०७ : ५४

काठमाडाैं- वि.सं. २०१८ को प्रवेशिका (एसएलसी) परीक्षा शक्ति माध्यमिक विद्यालयका लागि एक ऐतिहासिक मोड बन्यो। त्यो वर्ष, यदि कोही पनि उत्तीर्ण नभएको भए, विद्यालय घटुवामा पर्ने थियो, जसले यसको अस्तित्व नै संकटमा पार्न सक्थ्यो। शिक्षा मात्र होइन, सदरमुकामको प्रशासनिक क्षेत्रसमेत तनावग्रस्त थियो। तर, त्यसै वर्ष कल्पना पाण्डे नामकी एक छात्राले इतिहास कोरिन्। उनले एसएलसी उत्तीर्ण गरी विद्यालयलाई पतनबाट उकास्दै उज्ज्वल भविष्यको ढोका खोलिदिइन्।

शक्ति माविको त्यो अडिग यात्रा अहिले पनि गोरखाको प्रतिष्ठित शिक्षालयका रूपमा निरन्तर प्रगतिपथमा अघि बढिरहेको छ। यही विद्यालयका तीन जना पूर्व प्रधानाध्यापकहरू- बाबुराम श्रेष्ठ, रामचन्द्र आचार्य, र गोबर्धन आचार्यलाई सम्मान गर्न शनिबार राजधानीमा विशेष कार्यक्रम आयोजना गरियो।

हाल ८२ वर्ष पुगेका रामचन्द्र आचार्यले २०१६ सालदेखि शिक्षण सेवा प्रारम्भ गर्दै १४ वर्षसम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए। गोबर्धन आचार्यले २०१९ देखि २०५५ सालसम्म शिक्षण सेवा गरेका थिए भने बाबुराम श्रेष्ठ २०१५ सालदेखि विद्यालयको अभिन्न हिस्सा बनेका थिए। उनीहरूको अथक परिश्रमकै कारण शक्ति माविले उन्नतिको शिखर चुम्न सफल भयो।

पूर्वविद्यार्थी शारदाप्रसाद धितालले आफ्ना पुराना सहपाठीहरूको खोजी गर्दै जाने क्रममा गुरु सम्मान प्रारम्भ गरिएको बताए। इतिहास बोकेको यो विद्यालयका गुरुहरूलाई सम्मान गर्ने परम्परा स्थापित गर्दै, तीन जना गुरुहरूलाई गोरखाली चेलीहरूले पञ्चेबाजाको साजसज्जासहित नगरपरिक्रमा गराए। प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा आयोजित समारोहमा ताम्रपत्र अर्पण गरियो।

शैक्षिक क्षेत्रका अगुवा डा. वसन्तचन्द्र मरहठ्ठाले जीवनका उत्तरार्धमा पूर्वविद्यार्थीहरूबाट गुरुहरूको सम्मान हुनु नै एक पवित्र कर्म भएको बताए। नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्मा, शैक्षिक अगुवा प्रेमबहादुर थापा, र मीनप्रसाद भट्टराईले गुरुहरूको योगदानबारे मुक्तकण्ठले प्रशंसा गरे।

कार्यक्रममा भारतीय राजदूत डा. शङ्कर शर्माले पनि शुभकामना सन्देश पठाउँदै गुरुहरूको मार्गदर्शनकै कारण आफूहरूले जीवनको गन्तव्य पहिल्याउन सफल भएको उल्लेख गरे।

सम्मानित गुरुहरूले यो क्षणलाई आफ्ना दीर्घ शिक्षण यात्राको सार्थक उपलब्धि ठाने। “जीवन एउटा सिकाइ हो, निरन्तर चलिरहन्छ। हामी जुनसुकै स्थानमा पुगे पनि हाम्रो जड कहिल्यै बिर्सनु हुँदैन,” उनीहरूले भावुक हुँदै भने।

कार्यक्रममा राष्ट्रियसभा सदस्य किरणबाबु श्रेष्ठ र कांग्रेस नेतृ सृजना सिंहले आफूहरू आज पनि विद्यार्थी नै रहेको अनुभूति भएको बताए। सम्मानपत्रमा लेखिएको वाक्यहरूले कार्यक्रममा उपस्थित सबैको हृदय छोयो, “हजुरजस्ता गुरुलाई कृष्ण, अर्जुन र एकलव्यले जस्तो गुरुदक्षिणा दिन सक्ने क्षमता नभए पनि श्रद्धाका अभिनन्दन गर्दछौं।”

वि.सं. २००९ सालमा स्थापना भएको शक्ति माध्यमिक विद्यालय आज पनि शैक्षिक उज्यालोको केन्द्रका रूपमा अग्रसर छ। यो सम्मान केवल तीन गुरुहरूका लागि मात्र थिएन, यो थियो सम्पूर्ण शिक्षा क्षेत्रप्रति समर्पित श्रद्धाञ्जली, जसले गुरु-शिष्य परम्परालाई नयाँ ऊर्जा प्रदान गर्‍यो।

आइतबार, २७ माघ २०८१, ०७ : ५४

प्रतिक्रिया