क्यान इन्फोटेक २०२५

अवलोकनकर्ताको आकर्षण बढ्दो, विभिन्न प्रविधि कम्पनी तथा संस्थाहरुले लाभ लिँदै

आइतबार, २७ माघ २०८१, १३ : १०

काठमाडौं- भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२५ मा अवलोकनकर्ताको आकर्षण बढेसँगै विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाहरु क्यान इन्फोटेकबाट लाभ उठाइरहेका छन् । 

प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्टलगायतका स्टलमा अवलोकनकर्ताहरु पनि चासोका साथ आएको क्यानले बताएको छ ।

हिमाली तथा पहाडीका जिल्लाहरु जहाँ सजिलै इन्टरनेटको सेवा विस्तार गर्न सकिदैन त्यस्तो क्षेत्रलाई लक्षित गरी साग्रिला ग्रुपले नयाँ किसिमको ट्रान्सपोर्ट मेनेजमेन्ट सिस्टम ल्याएको छ । जसमा नेपाल टेलिकमको सिम प्रयोग गरिएको हुन्छ, त्यसमार्फत् निश्चित समयसीमा तोकी प्याकेज राखेपछि जुनसुकै ठाउँमा पनि इन्टरनेट चलाउन सकिन्छ । यही सेवाको विस्तार गर्नका लागि इन्फोटेकमा सांग्रिला ग्रुपले पनि स्टल राखेको छ ।

‘यो सांग्रिला ग्रुप अन्तर्गतको एउटा सेवा हो हामीले सुदुरपश्चिमका ८ जिल्लाहरुमा सेवा सुचारु गरिसकेका छौँ । यो सेवा सुचारु गरेपछि नेपाल टेलिकमको स्याटलाइट टावर भएको ठाउँबाट १० किलोमिटरको दुरीसम्म मज्जाले चलाउन सकिन्छ । साथै यसमा प्रयोग गरिएको नेपाल टेलिकमको सिमकै नम्बरबाट ल्यान्डलाइन पनि चलाउन सकिन्छ ।’ सांग्रिला ग्रुपका प्रमुख सम्बन्ध अधिकृत नारायण अधिकारीले भने ।

 ‘योबाहेक हामीले यात्रु एप पनि सञ्चालनमा ल्याउन लागेका छौँ, यात्रु एप चाँही तपाईले जुनसुकै ठाउँमा आवश्यक परेको बेलामा यातायात सेवा लिनका लागि र सामान एक ठाउँबाट अर्को ठाउँमा लैजानु परेमा प्रयोग गर्न सक्नु हुन्छ । एप इन्फोटेक सकिएपछि सुचारु हुनेभएपनि यहाँ चिनाउनका लागि राखेका हौँ । ’ उनले थपे ।  सांग्रिला ग्रुप इन्फोटेकमा दोस्रोपटक सहभागी हुँदा आफ्नो सेवाको विस्तार गर्न र ग्राहकको आवश्यकता बुझि सेवाको गुणस्तर विस्तार गर्न सहज भएको पनि उनले बताए । 

युपिएस इन्भटरको क्षेत्रमा विगत २७ वर्षदेखि काम गरिरहेको एस पावर कम्पनी जसले इटलीमा बनेका सामानहरु नेपालमा बिक्री गर्दै आएको छ । ‘काठमाडौं उपत्यकामा मात्र लगभग ४० जना सर्भिस इन्जिनियर भएको हाम्रो कम्पनीले २४सैं घन्टा र हप्ताको सातै दिन सेवा दिन्छ । बैंक, सर्भिस सेन्टर, मार्ट र हस्पिटल हाम्रो विशेष ग्राहक हुन् । 

नेपालमा मात्र हाम्रो लगभग साँढे चार लाख कस्टोमर छन् ।’ इन्फोटेकमा एस पावरको प्रतिनिधित्व गरिरहेका मुरलीकुमार झाले भने । उनले मानिसको अपेक्षा कहिले पुरा नहुने भन्दै इन्फोटेकमा अवलोकन गर्न आउनेको संख्या सकारात्मक रहेको बताए । 

एचएम ग्रूपले सुचना प्रविधिको विकाससँगै स्मार्ट स्क्रिन बोर्डको प्रयोग पनि बढाउन आवश्यक रहेकोले स्टलमार्फत् आफ्नो स्मार्ट बोर्डको नयाँ फिचरहरु चिनाउन सहभागिता जनाएको छ । 

एचएम गूप्रका एमबी शाही भन्छन्, ‘आइटी सेक्टरमा पहिलेभन्दा नलेज त बढी नै रहेको छ । तर विद्यार्थी र शिक्षक दुवैले बुझ्न अतिआवश्यक रहेको स्मार्ट बोर्डलाई लेख्न र गीत बजाउन सकिने हिसाबले मात्र नलिएर यसमा नयाँ नयाँ फिचरको सुरु गरेर अझै राम्रो कुराहरु सिक्न सकिन्छ ।’ 

क्यान इन्फोटेकमा धेरै शिक्षक र विद्यार्थीको उपस्थिति बढेमा डिजिटल बोर्डको बारेमा सिकेर यसको प्रयोग बढ्दा सुचना प्रविधिको विकासमा मद्दत पुग्ने उनको भनाई छ । 

सुचना प्रविधिलाई चिनाउनका लागि गर्दै आएको ३० औं संस्करणको क्यान इन्फोटेकले कम्पनी तथा विभिन्न ब्रान्डहरु सन्तुष्ट भएको देखिन्छ । आफ्ना सेवा तथा उत्पादन दर्शकमाझ ल्याउन पाउँदा ग्राहकको प्रतिक्रियाले झन् नयाँ उत्पादन वृद्धि गर्न सहज भएको उनीहरु बताउँछन् ।

आइतबार, २७ माघ २०८१, १३ : १०

प्रतिक्रिया