सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स : वित्तीय सूचकहरूमा उल्लेखनीय प्रगति

सोमबार, २८ माघ २०८१, ०६ : ५४

काठमाडाैं- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीका अधिकांश सूचकहरूमा प्रभावशाली वृद्धि देखिएको छ।

कम्पनीको ४ अर्ब ९५ करोड रुपैयाँ शेयर पूँजी रहेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङ ५० करोड ८४ लाख रुपैयाँ पुगेको छ भने अन्य इक्विटी ६ करोड ९३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस अवधिमा रिटेन्ड अर्निङ १ अर्ब १ करोड र अन्य इक्विटी २ करोड ८९ लाख मात्र थियो। महाविपत्ति कोष पनि ७ प्रतिशतले वृद्धि भई १३ करोड ४३ लाख रुपैयाँ पुगेको छ।

वित्तीय विवरणअनुसार, कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २३ करोड १६ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको २१ करोड ९७ लाख ३० हजार रुपैयाँ को तुलनामा ९.४४ प्रतिशत वृद्धि हो।

कम्पनीले दोस्रो त्रैमाससम्म ३ अर्ब २० करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आर्जन गरिएको २ अर्ब ७८ करोड ६९ लाख ४९ हजार रुपैयाँ भन्दा १४.९३ प्रतिशतले वृद्धि भएको हो।

पुनर्बीमा खर्चमा भने कम्पनीले प्रभावकारी व्यवस्थापन देखाएको छ। यस अवधिमा पुनर्बीमा मार्फत ९ करोड १६ लाख रुपैयाँ खर्चिएको छ, जुन अघिल्लो वर्षको १६ करोड ६३ लाख रुपैयाँ को तुलनामा उल्लेखनीय रूपमा घटेको हो।

कम्पनीको जीवन बीमा कोष पनि उल्लेखनीय रूपमा बढेको छ। समीक्षा अवधिसम्म १६ अर्ब ६० करोड ३३ लाख रुपैयाँ पुगेको जीवन बीमा कोष अघिल्लो वर्ष यही अवधिमा ११ अर्ब १७ करोड ३७ लाख रुपैयाँ मात्र थियो, जसमा ४९.५९ प्रतिशत को वृद्धि भएको छ।

समीक्षा अवधिमा वार्षिकीकृत प्रति शेयर आम्दानी (EPS) ९ रुपैयाँ ३६ पैसा रहेको छ भने पीई रेसियो ४४.४७ गुणा कायम छ। कम्पनीको प्रति शेयर नेटवर्थ ११४ रुपैयाँ ३८ पैसा रहेको छ, जसले लगानीकर्ताहरूलाई कम्पनीको मजबुत वित्तीय अवस्था दर्शाउँछ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वित्तीय वृद्धिदरले यसको व्यवस्थापन क्षमता र दीर्घकालीन स्थिरता उजागर गरेको छ। कम्पनीले भविष्यमा अझ राम्रो प्रदर्शन गर्ने विश्वास लिइएको छ।

सोमबार, २८ माघ २०८१, ०६ : ५४

प्रतिक्रिया