वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन सारियो, व्यवसायीहरू असन्तुष्ट

सोमबार, २८ माघ २०८१, ०८ : १४

काठमाडाैं- वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आगामी १७ असारमा सम्पन्न हुने भएको छ। व्यवसायीहरूले उठाएका जटिल मुद्दाहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको र संघको प्रशासनिक भवनसम्बन्धी विवादहरू समाधान गर्न समय अपुग हुने भन्दै संघले निर्वाचनको मिति सार्ने निर्णय गरेको हो।

संघका महासचिव मेघनाथ भुर्तेलले आइतबार राति राजधानी दैनिकसँग कुरा गर्दै निर्वाचन असार १७ गते संघ स्थापना दिवसकै दिन गरिने आधिकारिक निर्णय भएको जानकारी गराए। व्यवसायीहरूले उठाएका वैदेशिक रोजगार ऐन संशोधनलगायतका मुद्दामा सरकारसँग छलफल आवश्यक रहेको र सहमतिमा पुग्न अझै समय लाग्ने भएकाले निर्वाचन सार्नुपरेको उनले बताए।

निर्वाचनको तयारी नपुगेको र केही व्यवसायी संस्थाबीचको मतभेदका कारण २ फागुनमा निर्वाचन सम्पन्न गर्न कठिन हुने निष्कर्षमा पुग्दै संघले नयाँ मिति तय गरेको हो।

निर्वाचन सार्ने निर्णयलाई व्यवसायीहरूबीच व्यापक असहमति देखिएको छ। चुनावी प्रक्रिया अघि बढिसकेको अवस्थामा एकाएक मिति परिवर्तन गरिनु गलत भएको भन्दै व्यवसायीहरूले विरोध जनाएका छन्।

नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, माओवादी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र एकीकृत समाजवादी निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले संघमा ज्ञापनपत्र बुझाउँदै तोकिएको मितिमै निर्वाचन गर्न माग गरेका छन्।

यसअघि, निर्वाचनको तयारीस्वरूप व्यवसायीहरू तीन फरक समूहमा विभाजित भइसकेका थिए। लोकतान्त्रिक एसोसिएसन र गणतान्त्रिक एसोसिएसनले भुवनसिंह गुरुङलाई अध्यक्ष पदका लागि उम्मेदवार बनाएका थिए। लोकतान्त्रिक एसोसिएसनकै असन्तुष्ट समूहले कुमुद खनाललाई अघि सारेका थिए भने एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले नरेश गेलाललाई अध्यक्ष पदका लागि उठाएका थिए।

संघको निर्णयप्रति असहमति जनाउँदै एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले तोकिएकै मितिमा साधारणसभा गर्नुपर्ने माग गर्दै ध्यानाकर्षणपत्र बुझाइसकेको छ। सो संगठनसँगै अन्य तीन संस्थाहरूले पनि संघको स्वायत्तता र लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्दै तोकिएको मितिमै निर्वाचन गर्न जोडदार माग गरेका छन्।

संघले गत २५ माघसम्म सदस्यता नवीकरणको सूचना जारी गरेपछि करिब ८ सय म्यानपावर कम्पनीहरूले सदस्यता नवीकरण गरिसकेका छन्। यद्यपि, निर्वाचन मिति सार्ने निर्णयपछि व्यवसायी समुदायमा अन्योल उत्पन्न भएको छ। अब, संघले आगामी निर्वाचनको मिति सुनिश्चित गर्न र व्यवसायीहरूबीचको विवाद समाधान गर्न आवश्यक पहल गर्ने अपेक्षा गरिएको छ।

सोमबार, २८ माघ २०८१, ०८ : १४

प्रतिक्रिया