काठमाडाैं- सर्लाही प्रहरीले ठूलो परिमाणको शंकास्पद सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ। आइतबार बागमती नगरपालिका-१२ स्थित चेकपोस्टमा इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त ट्रक नियन्त्रणमा लिएको हो।
काठमाण्डौंबाट मोरङतर्फ गइरहेको प्रदेश ३-०१-००५ ख ९५२२ नम्बरको कन्टेनर ट्रक रोकी गरिएको चेकजाँचमा रेडिमेड कपडा, जुत्ता, मिसिनरी पार्ट्स लगायतका सामानको बिल–बिजक शंकास्पद पाइएपछि प्रहरीले ट्रकसहित नियन्त्रणमा लिएको हो। प्रहरीले बरामद सामानको मूल्य ७४ लाख ४६ हजार ४२५ रुपैयाँ रहेको जनाएको छ।
शंका लाग्ने गरी ढुवानी गरिएको सामानको वैधानिकता पुष्टि गर्न नसकिएपछि ट्रकलाई आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया पठाइएको सर्लाही जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सुरक्षा निकायले राजस्व छली नियन्त्रण तथा अवैध व्यापार रोकथामलाई प्राथमिकतामा राख्दै कडाइका साथ चेकजाँच जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया