नागरिकको 'लाइक' सरकारलाई 'डिसलाइक' !, सामाजिक सञ्जालसम्बन्धी विधेयकविरुद्ध जनकपुरमा मसाल जुलुस

सोमबार, २८ माघ २०८१, ०८ : ५४

काठमाडाैं- जनकपुरको रामानन्द चोक आइतबार साँझ मसालको उज्यालोमा झलमलायो, तर युवाहरूको आक्रोशको आगो सरकारका लागि झन् दन्कियो। सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारको ‘महान’ योजना अर्थात् सूचना प्रविधि विधेयकविरुद्ध युवाहरू सडकमा उत्रिए।

"सञ्जालमा लगाम, लोकतन्त्रको दाहसंस्कार!"- नाराहरू गुन्जिरहेका थिए।

अखिल क्रान्तिकारी राजर्षी जनक विश्वविद्यालय, रारा बहुमुखी क्याम्पस र धनुषा जिल्ला समितिको संयुक्त आयोजनामा निकालिएको मसाल जुलुसमा युवाहरूको एउटै आवाज थियो- "प्रकाश चाहिन्छ, अध्यारो होइन!"

विधेयकमा दण्ड, जरिवाना, जेल- सबथोक मिसाइएपछि सरकारको नियतको 'फिल्टर' नागरिकले राम्ररी बुझेका छन्। "स्वतन्त्रता गिजोल्ने विधेयक चाहिँदैन!" भन्दै युवाहरूले सूचना तथा सञ्चारप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको राजीनामासमेत मागे।

सामाजिक सञ्जालमा नागरिकको आवाज दबाएर सरकारलाई ‘मुटुमा लग’ गर्ने अभियान सफल नहुने चेतावनी प्रदर्शनकारीले दिएका छन्। काठमाडौंदेखि जनकपुरसम्मको विरोधले अब सरकारको 'नोटिफिकेशन' बजिसकेको छ।

लोकतन्त्रलाई 'अन्फ्रेन्ड' गर्ने प्रयास बन्द गर, सरकार! जनताले तिमीलाई 'ब्लक' गर्न बेर लगाउने छैनन्!

सोमबार, २८ माघ २०८१, ०८ : ५४

प्रतिक्रिया