काठमाडौं- एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एनएमबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि आवेदन दिने समयसीमा थप गरेको छ। अब लगानीकर्ताहरूले फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्।
एनएमबि क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरमा कुल १२ करोड इकाई अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको फण्ड बिक्रीमा ल्याएको हो। दश वर्षे बन्दमुखी योजना रहेको यो फण्ड एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुनेछ।
फण्ड अन्तर्गत १५ प्रतिशत अर्थात् १ करोड ८० लाख इकाई कोष प्रवर्धक एनएमबि बैंकलाई, १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ। बाँकी रहेका १० करोड २० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरूका लागि खुला गरिएको छ।
लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।
फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड द्वारा निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि-आस्बा प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सक्नेछन्।
म्युचुअल फण्ड निष्काशनका लागि गराइएको क्रेडिट रेटिङ्ग अनुसार इक्रा नेपाल ले कोष प्रवर्धकलाई इक्राएनपि इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ भने, योजना व्यवस्थापकलाई इक्राएनपि एएमसि क्वालिटी २ रेटिङ्ग प्रदान गरिएको छ। यसले योजना व्यवस्थापनको उत्कृष्ट गुणस्तर तथा विश्वसनीयता दर्शाउँछ।
लगानीकर्ताहरूका लागि लाभदायी अवसर प्रदान गर्ने यस एनएमबि हाईब्रिड फण्ड एल २ मा आवेदन दिने समयसीमा फागुन ८ गतेसम्म थप गरिएको छ। न्यून जोखिममा दीर्घकालीन प्रतिफल सुनिश्चित गर्न इच्छुक लगानीकर्ताहरूले समयमै आवेदन दिनुपर्नेछ।
प्रतिक्रिया