काठमाडौं - भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका सामुदायिक विद्यालयको शिक्षा गुणस्तर वृद्धि गर्न महानगरले कुनै पनि कसर बाँकी नराखेको बताएकी छिन् ।
भरतपुर ९ मा रहेको शरदपुर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै प्रमुख दाहालले महानगरको शिक्षामा गुणस्तर अभिवृद्धि गर्न एक कक्षा कोठा एक शिक्षक, दिवा खाजा संघीय सरकारले दिने १० मा ५ रुपैयाँ थप, छात्राहरूलाई साईकल वितरण, छात्रावृत्ति, न्यानो कपडा वितरणलगायतका धेरै कार्य गरिरहेको उल्लेख गरिन्।
प्रमुख दाहालले राज्यले शिक्षा क्षेत्रमा ठुलो लगानी गरे पनि त्यसअनुसारको नजिता प्राप्त गर्न नसकेको भरतपुरले शिक्षामा फड्को मारेको बताइन् । ‘शैक्षिक सेवामा ५० वर्ष पूरा गर्नु चानचुने कुरा होइन’ उनले भनिन्, ‘हामीले शिक्षामा फड्को मारेका छौं । प्रविधिमैत्री शिक्षामा जोड दिएका छौं ।’
विद्यार्थीहरूलाई पढाइमा मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउनु पर्ने बताउँदै प्रमुख दाहालले छिट्टै नै राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिइन् ।
‘त्यहाँ पनि विद्यार्थी भाइबहिनीहरूको सहभागिता रहने छ’ उनले भनिन्, ‘महानगरपालिकाका सबै सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी भाइबहिनीहरूलाई अवसर दिनका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।’
व्यावहारिक शुक्रवार भनेर विद्यार्थीहरूलाई विद्यालयमा व्यावहारिक ज्ञान दिने नैतिक ज्ञान दिने काम भइरहेको मेयर दाहालको भनाइ थियो ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न परिवार, सामाजिक अगुवा, शिक्षक कर्मचारी र विद्यार्थीको भूमिका महत्त्वपूर्ण रहने धारणा राखिन् । समुद्घाटन समारोहमा विद्यालयको उन्नतिमा योगदान दिने विभिन्न महानुभावहरूलाई सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले गीत र नृत्यसमेत प्रस्तुत गरेका थिए । कार्यक्रम हुनु पूर्व भरतपुर ८ र ९ को चोकबाट र्याली निकालिएको थियो ।
प्रतिक्रिया