काठमाडौं- रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको छ। यही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछाने भने एक करोड धरौटी बुझाएर रिहा भएका थिए।
आज सोमबार न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई थुनामा पठाउने आदेश दिएको रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए।
यसअघि उनी काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा ५० लाख र पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा ८८ लाख धरौटीमा रिहा भएका थिए।
बुटवलमा पनि सुप्रिम सहकारी ठगीको अभियोग दर्ता भएपछि आफैँ अदालतमा उपस्थित भएका जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदहेश भएको हो। उनीविरुद्ध चितवनको सहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भइसकेको छ।
सुप्रिम सहकारी ठगीमा २२ जनाविरुद्ध पूरकअभियोग दर्ता भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर पूरकअभियोग दर्ता भए पनि लामिछाने र जोशी मात्रै अदालतमा उपस्थित भएका हुन्। पूरकअभियोगमा ५५ करोड रुपैयाँ बिगो कायम गरिएको छ।
यसअघि गत वैशाखमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित २८ जनालाई प्रतिवादी बनाएर सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो।
प्रतिक्रिया