विकिन्द्र सिंहको प्रेरणादायी संघर्ष : एक खुट्टाले साइकल चलाएर पाउरोटी बेच्न दैनिक २० किमि यात्रा

सोमबार, २८ माघ २०८१, २० : ५६

काठमाडाैं- जीवनका अनगिन्ती संघर्षहरूबीच आफ्नो दृढ संकल्पको ज्वलन्त उदाहरण प्रस्तुत गर्ने व्यक्ति हुन् सर्लाही, चन्द्रनगर गाउँपालिका-५, मोहनपुरका विकिन्द्र सिंह । एक खुट्टाले साइकल चलाएर दैनिक २० किलोमिटरसम्मको यात्रा गर्दै परिवारको गुजारा चलाइरहेका यी कर्मयोगीको कथाले हरेक मनलाई छुन्छ। विगत १५ वर्षदेखि उनले पाउरोटी बेच्ने यसै पेशाबाट जीवन धान्दै आएका छन्।

३५ वर्षीय सिंहले पोलियोको कारण जन्मजात दायाँ खुट्टा गुमाए। समाजले उनीप्रति सहानुभूतिका शब्दहरूभन्दा बढी अवहेलनाका दृष्टिहरू फाल्यो। तर, उनले आफूप्रति भएको हेला सहनु मात्र गरेनन्, त्यसलाई आफ्नो बलियो आत्मबलको आधार बनाए।

सिकेन्द्रको यात्राले कति मोड पार गर्‍यो, कति उकालो-ओरालो भोग्यो! विद्यालयमा कक्षा पाँचसम्म अध्ययन गरे पनि आर्थिक अभावले पढाइलाई निरन्तरता दिन सकेनन्। विपन्न माझी समुदायका परिवारमा जन्मेका उनले बाल्यकालमै दुःखको वास्तविकता चिने। परिवारको पेट भर्न १३ वर्षकै उमेरमा दिल्ली पुगे, त्यहाँ साडीमा बुट्टा बनाउने सीप सिके। तर, आत्मसन्तुष्टि त्यहाँ पनि भेटेनन्। लुधियाना पुगे, सिलाइ-कटाइ सिके, तर त्यो पनि मन परेन। वर्ष दिनको भौंतारिएपछि घर फिरे।

घर फर्किएको मात्र के थियो, जिम्मेवारीको भारी काँधमा थपियो। दाजु छुट्टिएर बसेपछि वृद्ध बाबु-आमा, श्रीमती र दुई सन्तानको लालनपालन उनको काँधमा आयो। बाध्यताले उनलाई एक खुट्टाले साइकल कुदाउने सीपलाई पेसामा बदल्न प्रेरित गर्‍यो।

विहानीको पहिलो किरणसँगै उनको दिनचर्या सुरू हुन्छ। बिहान ५ बजे नवलपुरस्थित पाउरोटी उद्योगबाट आएको गाडीले उनको घरमै सामान पुर्‍याउँछ। त्यसपछि साइकलमा ५०-६० किलोको पाउरोटी बोकेर उनी गाउँका पसल र घरघरमा पुर्याउन निस्किन्छन्। करिब २० किलोमिटर यात्रा गर्दै दैनिक चारदेखि पाँच हजारको पाउरोटी बिक्री गर्छन्। यसबाट उनी दैनिक आठदेखि नौ सय रुपैयाँ कमाउँछन्, जुन महिनाको हिसाबले २४ देखि २७ हजार रुपैयाँसम्म पुग्छ। यही आम्दानीले उनको परिवारलाई सुखदुःखका हरेक मोड पार गराइरहेको छ।

पछिल्लो समय साइकल र बाकस जीर्ण बन्दै गएपछि केही मनकारी व्यक्तिहरूले उनलाई नयाँ साइकल र बाकस दिए। तर, उमेरसँगै बढ्दै गएको शारीरिक थकानले थप चुनौतीहरू ल्याएको छ। “तीनपाङ्ग्रे स्कुटर भए, अझ सहज हुनेथियो,” उनी भन्छन्, “कमाइ परिवारकै आवश्यकतामा खर्च हुन्छ, आफैं किन्न सक्दिन।”

स्थानीय फरक क्षमता भएका युवा शिवनाथ कहर भन्छन्, “अशक्त भएर पनि संघर्ष गरिरहेका व्यक्तिलाई स्थानीय सरकारले सहयोग गर्नुपर्छ।” नागरिक अगुवा शिवचन्द्र चौधरीको पनि यही माग छ, “मागेर होइन, मेहनत गरेर जीवनयापन गर्ने यस्ता कर्मयोगीहरूलाई सरकार र समाजले विशेष सहयोग गर्नुपर्छ।”

विकिन्द्रजस्ता असल उदाहरणहरूले देखाउँछन्- जुँगाको शानले होइन, मनको बलले जीवन जिउने हो। उनी एउटा उज्ज्वल दीप हुन्, जसको प्रकाशमा संघर्षरत आत्माहरूले आफ्नो बाटो खोज्न सक्छन्।

सोमबार, २८ माघ २०८१, २० : ५६

प्रतिक्रिया