काठमाडाैं- जिल्ला प्रशासन कार्यालय, बागलुङमा १५ हजार ८३८ वटा राष्ट्रिय परिचयपत्र सेवाग्राही नआउँदा थन्किएका छन्। नयाँ परिचयपत्र लिन दिनहुँ सयौं सेवाग्राही आइरहे पनि पहिले नै छापिसकेका कार्ड लिन आउनेको संख्या न्यून छ।
प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायका अनुसार अधिकांश सेवाग्राही विदेशिएका कारण परिचयपत्र लिन नआएको हो। दैनिक करिब २०० जना नयाँ परिचयपत्रका लागि आवेदन दिन आउँछन्, तर तयार भएका कार्ड लिन आउने संख्या २० देखि ५० जनामा सीमित छ।
परिचयपत्र वितरणको प्रक्रियामा व्यक्तिगत उपस्थिति र पुनः बायोमेट्रिक प्रमाणीकरण अनिवार्य भएकाले पनि वितरण गति सुस्त देखिएको छ। कार्डहरू अलपत्र पर्दै जाँदा कार्यालयलाई भण्डारण व्यवस्थापनमै चुनौती थपिएको छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले गलकोट नगरपालिकामा शिविर सञ्चालन गरेर परिचयपत्र वितरण प्रक्रिया तीव्र पार्ने योजना बनाएको छ।
राष्ट्रिय परिचयपत्रविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएपछि सरकारले तोकेका सबै सरकारी कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाइसकेको छ। नागरिकताको कमीकमजोरी हटाई आधुनिक डिजिटल परिचयपत्रलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउन यो व्यवस्था ल्याइएको हो।
चिपयुक्त यस परिचयपत्रमा व्यक्तिगत विवरण, १० औंलाछाप, जैविक सूचना, जन्म-मृत्यु सम्बन्धी सम्पूर्ण अभिलेख सुरक्षित रहनेछ। भविष्यमा नागरिकता, लाइसेन्स, मतदाता परिचयपत्र, जग्गाधनी प्रमाणपत्रलगायत सबै जानकारी एउटै कार्डमा समेटिने छ, जसले नागरिकलाई कागजात बोकेर हिँड्नुपर्ने झन्झटबाट मुक्त गर्ने विश्वास गरिएको छ।
सरकारले डिजिटल प्रविधिमा सुधार गर्दै राष्ट्रिय परिचयपत्रलाई अनलाइन प्रणालीमार्फत जन्मदेखि मृत्युसम्मको अभिलेख व्यवस्थित राख्ने तयारी गरिरहेको छ। तर, सेवाग्राही स्वयं उपस्थित नभएसम्म कार्ड हातमा पार्न नसकिने बाध्यताले कार्डहरूको चाङ थपिंदै गएको छ।
अब सेवाग्राही आफैंले पनि सक्रिय भएर आफ्नो परिचयपत्र लिनुपर्ने बेला आएको छ, नत्र यी कार्डहरू धुलाम्य हुने जोखिम बढ्दै जानेछ !
प्रतिक्रिया