क्यान इन्फोटेक २०२५ सम्पन्न, डिजिटल नेपाल निर्माणमा नयाँ आयाम थपिएको महासंघको विश्वास

मंगलबार, २९ माघ २०८१, ०९ : ५०

काठमाडौं - सूचना तथा सञ्चार प्रविधिको सबैभन्दा ठूलो वार्षिक प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ भव्यताका साथ सम्पन्न भएको छ ।

भृकुटीमण्डपमा माघ २४ देखि सुरु भएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा आयोजित ३०औं संस्करण इन्फोटेक २८ गतेसम्म समापन भएको हो।

सूचना प्रविधि क्षेत्रमा नवप्रवर्तन, स्टार्टअप तथा प्रविधिप्रेमीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजित प्रदर्शनीको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए। सरकारका उच्च अधिकारी, व्यवसायी, नीति निर्माता, विद्यार्थी तथा प्रविधिप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको यस संस्करणले डिजिटल नेपाल निर्माणलाई नयाँ गति दिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीको अन्तिम दिन नेपाल सरकारका पूर्वमन्त्रीहरू पार्वत गुरुङ, डा.प्रकाशचन्द्र लोहनी, काठमाडौं महानगरपालिकाकि उपमेयर सुनित डंगोल, चर्चित भ्लगर शिशन बानियाँ लगायतले अवलोकन गरेका थिए।

Guest KMC_CAN Info-Tech 2025

क्यान इन्फोटेक २०२५ मा सूचना प्रविधिका विश्वस्तरीय ब्रान्ड, दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, फिनटेक, ई-कमर्स, साइबर सुरक्षा समाधान, ब्लकचेन प्रविधि, एआई तथा डिजिटल साक्षरताका नयाँ पहलहरू प्रस्तुत गरिएको थियो । 
विशेषगरी, नेपाली स्टार्टअप तथा नवप्रवर्तनकर्ताहरूका नवीनतम प्रविधि, सफ्टवेयर, एप्लिकेसन तथा स्वदेशी रूपमा विकसित प्रविधिहरूमा आकर्षण बढी देखिएको आयोजक क्यान महासंघले बताएको छ।

३०औँ क्यान इन्फोटेकको प्रमुख प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सहशीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेका थिए । त्यस्तै, गोल्ड स्पोन्सरमा गोगोरो, सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई र अनलिमिटेड टेक्नोलोजी (ज्याप) रहेका थिए । साथै, प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स, एसएमएस पार्टनरमा स्प्यारो एसएमएस, डिजिटल एड्रेस पार्टनरमा कता हो, प्रिन्टिङ पार्टनरमा क्यानन, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, मोबिलिटी पार्टनरमा टुटल, इनर्जी पार्टनरमा एग्जिबिशन लाइट हाउस र सीसीटीभी पार्टनरमा आईएमओयू रहेका थिए ।

क्यान महासंघका अध्यक्ष सुनैना घिमिरे पाण्डेले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता गरेकी छिन्। उनका अनुसार महासंघले डेटा प्रोटेक्सन ऐन, राइड शेयरिङ नीति, एआई प्रविधिका लागि आवश्यक डेटा व्यवस्थापन तथा वैदेशिक लगानी ऐनमा संशोधन गर्ने जस्ता विषयलाई प्राथमिकतामा राखेर नीति निर्माणमा सक्रियता देखाएको छ ।

Welcoming Guest_CAN Info-Tech

यस संस्करणको क्यान इन्फोटेकलाई २ लाख बढीले अवलोकन गरेका छन् । प्रदर्शनीमा १५५ स्टल सहभागी भएका थिए, जसअन्तर्गत विभिन्न कम्पनीहरूले आफ्नो प्रविधि तथा सेवाको प्रदर्शन गरेका थिए। कम्पनीहरूले उपभोक्तासँग अन्तरक्रिया, प्रविधि परीक्षण तथा विभिन्न अफरमार्फत प्रवर्द्धन गरेका थिए । मेलाको अन्तिम दिनसम्म उपभोक्ताले ३० देखि ७० प्रतिशतसम्म छुट तथा विशेष अफरहरू प्राप्त गरेका छन्।

Students_CAN Info-Tech

क्यान महासंघका महासचिव चन्द्र विलास भुर्तेलले यो संस्करणले नेपाली नवप्रवर्तन तथा सूचना प्रविधिको विकासमा नयाँ ऊर्जा थपेको बताए। आगामी संस्करणलाई अझ प्रभावकारी बनाउन महासंघले प्रविधि शिक्षामा जोड दिने, डिजिटल साक्षरता अभिवृद्धि गर्ने तथा नीतिगत सुधारका लागि पहल गर्ने योजना बनाएको छ ।


 

मंगलबार, २९ माघ २०८१, ०९ : ५०

प्रतिक्रिया