शनिबारसम्म सबै इजरायली बन्धक नछोडे गाजा ध्वस्त पार्ने ट्रम्पको चेतावनी

मंगलबार, २९ माघ २०८१, १३ : ११

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्म सबै इजरायली बन्धक रिहा नगरे गाजा ध्वस्त पार्ने चेतावनी दिएका छन्।

प्यालेस्टिनी लडाकू समूह हमासलाई चेतावनी दिँदै शनिबार दिउँसो १२ बजेसम्म सबै बन्धकहरूलाई फिर्ता गर्न चेतावनी दिएका हुन्। हमासले त्यसो नगरे युद्धविराम सम्झौता रद्द गर्नुपर्ने ट्रम्पको भनाइ छ।

ओभल अफिसमा मिडियासँग ट्रम्पले भने, ‘युद्धविराम जारी राख्ने वा अन्त्य गर्ने निर्णय इजरायलमा मात्र निर्भर हुनेछ। तर, बाँकी सबै बन्धकहरूलाई तीन वा चार जनाको समूहमा होइन, सँगै रिहा गर्नुपर्छ। हामी सबै बन्धकहरूलाई एकैसाथ रिहा गर्न चाहन्छौँ। यद्यपि, म यो मेरो तर्फबाट मात्र भन्दैछु।’

यसअघि हमासले पनि इजरायलसँगको युद्धविराम रद्द गर्ने धम्की दिएको थियो। उसले  इजरायलले सम्झौताको उल्लंघन गरिरहेको बताउँदै बन्धक रिहा नगर्ने बताइसकेको छ।

ट्रम्पले शनिबारको समयसीमाको बारेमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग पनि कुरा गर्ने बताएका छन्। यसबारेमा धेरै खुलासा नगरेका ट्रम्पले अन्तिममा हमासले आफैँ कुरा बुझ्नेछ भनेका थिए । यसअघि उनले गाजा कब्जा गर्ने र त्यहाँ सिटी रिसोर्ट बनाउने कुरा गरेका थिए। त्यतिबेला उनले प्यालेस्टिनी जनतालाई गाजाबाट विस्थापित गरेर जोर्डन र इजिप्टमा बसोबास गराउनुपर्ने बताएका थिए। यद्यपि, जोर्डन र इजिप्ट दुवैले यो योजनाको विरोध गरेका थिए।

यसैबीच ट्रम्पले जोर्डन र इजिप्टले प्यालेस्टिनीहरूलाई आश्रय नदिए उनीहरूलाई दिइने अमेरिकी सहयोग बन्द गर्ने चेतावनी समेत दिएका छन्। जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँगको भेटअघि उनले यस्तो बताएका हुन्। एजेन्सी
 

मंगलबार, २९ माघ २०८१, १३ : ११

प्रतिक्रिया