नेपाल पिछडावर्ग महासंघको अध्यक्षमा गजेन्द्र ठाकुर

बुधबार, ३० माघ २०८१, १० : २९

काठमाडौं- नेपाल पिछडावर्ग (ओबीसी) महासंघको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट गजेन्द्र ठाकुर ओबीसीको अध्यक्षमा पुनः सर्वसहमतिले चयन भएका छन् ।

मंगलबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा सम्पन्न महाधिवेशनबाट अध्यक्ष ठाकुरसहित १३ सदस्यीय केन्द्रीय समिति चयन भएका हुन् । ओबीसीको उपाध्यक्षद्वय सुरेशचन्द्र राय र उपेन्द्र प्रसाद चौधरी, महासचिव तुफानी ठाकुर, सचिवद्वय बुधराम पाल र सुधा कुमारी यादव, कोषाध्यक्ष फुलतारण कुमारी र प्रवक्ता शिवकुमार साह मनोनित भएका छन् ।

महाधिवेशनमा प्रमुख अतिथि रहेका पूर्वमन्त्री डा.केशवमान शाक्यले अधिकारका लागि दलित, आदिवासी जनजाति र ओबीसी मिलेर राज्यसँग लड्नुपर्ने धारणा राखेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेपालका मूल निवासी दलित, आदिवासी जनजाति र पिछडावर्गबीच कार्यगत एकता नहुँदा केही खास वर्गले राज्यका निकायहरुमा पकड बनाएका छन् ।’ उनले नेपालको संविधानअनुरुप गठन भएका दलित आयोग, आदिवासी जनजाति आयोग, मुस्लिम आयोग, मधेशी आयोग जस्तै पिछडावर्ग आयोग गठन हुनुपर्ने बताए ।

ओबीसीका नवनिर्वाचित अध्यक्ष गजेन्द्र ठाकुरले ओबीसीको थर सूचिकरण गरी पिछडावर्ग आरक्षण लागू गर्नुपर्ने माग गरे । उनले संघीय र प्रादेशिक सरकारले पिछडावर्गको नाममा आएको बजेटलाई कार्यान्वयन नगरी फ्रिज गर्दै आएको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनले भने, ‘समावेशी आयोगले पिछडावर्गको थर सूचिकरण गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउँदा पनि मन्त्रालयले कुनै वास्ता गरिरहेको छैन । मन्त्रालयले अविलम्ब थर सूचिकरणलाई संसदमा पेस गरी पारित गर्नुपर्छ ।’ उनले पिछडावर्गको आरक्षण लागू नगरिए फागुनदेखि आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

कार्यक्रममा संविधानसभा सदस्यद्वय रक्मिनी चौधरी र रामशिला देवी, प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसकी नेतृ विष्णकुमारी सापकोटा, मधेश जनजागरण अभियानका संयोजक रंजित कुमार झा लगायतले महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

महाधिवेशनबाट आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र आगामी कार्ययोजना प्रतिवेदनहरु समेत पारित गरिएको थियो । 
 

बुधबार, ३० माघ २०८१, १० : २९

प्रतिक्रिया